नेभिगेशन
समाचार

टिकटकको प्रलोभनमा भारत पुर्‍याइएकी किशोरीलाई पर्सा प्रहरीले उद्धार गर्‍यो

 प्रहरीले टिकटकमार्फत चिनजान भई विवाह गर्ने प्रलोभनमा परेर भारतसम्म पुर्‍याइएकी १५ वर्षीय किशोरीलाई सकुशल उद्धार गरेको छ।

पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रको निर्देशनमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्स्पेक्टर प्रकाश थापाको नेतृत्वमा गरिएको विशेष प्रयासपछि हराएको १८ औँ दिनमा किशोरी सीमाक्षेत्रमा फेला परेकी हुन्।

गत साउन १२ गते कटहरिया नगरपालिका–४ निवासी ती किशोरीलाई २२ वर्षीय युवकले मोटरसाइकलमा ललाइफकाई भारत पुर्‍याएको उनका अभिभावकले बताएका छन्। खोजतलासका क्रममा अभिभावकले सिसी टिभी फुटेज र टिकटकमा राखिएका तस्बिरमार्फत छोरीको खोजी गरेका थिए। सो क्रममा उनी पर्सा–पटेर्वा सुगौली गाउँपालिका–७, रघुनाथपुरसम्म पुगेको पत्ता लागेको थियो। तर अवस्था सार्वजनिक भएपछि युवकको परिवारले किशोरीलाई रातारात भारतको बिहारस्थित रामनगरमा आफन्तको घरमा लुकाएको भनिएको छ।

उद्धार कार्यमा संलग्न प्रहरीले स्थानीय सञ्चारकर्मी प्रमोद कुमार यादव र रातोपाटीकर्मी सञ्जय मिश्राको रोहबरमा किशोरीलाई अभिभावकको जिम्मा लगाएको जनाएको छ।

इन्स्पेक्टर थापाले भने, “बालिकालाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको छ। तर उनलाई भगाउने युवक र उनका परिवारविरुद्ध थप अनुसन्धान भइरहेको छ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update