नेभिगेशन
समाचार

समृद्ध कर्णालीका लागि युवा प्रादेशिक बहस भव्य रूपमा सम्पन्न

अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा आयोजित “समृद्ध कर्णालीका लागि युवा प्रादेशिक बहस” आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाहको प्रमुख आतिथ्यमा भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। कार्यक्रमले कर्णाली प्रदेशका दसै जिल्लाका युवालाई एकै थलोमा भेला पार्दै सहकार्य, नेतृत्व र साझा दृष्टिकोणको सशक्त सन्देश दिएको छ।

कार्यक्रममा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा नेपाली कांग्रेस जाजरकोटका सभापति वेदराज सिंह,  कर्णाली प्रदेशका प्रदेश सभाका सदस्य,कुसे गाउँपालिकाका अध्यक्ष, नेपाली कांग्रेस जाजरकोट जिल्ला सचिव हरिचन्द्र बस्नेतसहित प्रदेशभरका जनप्रतिनिधि, युवा नेता, सामाजिक अभियन्ता र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो। सभाहलमा सहभागीहरूको उत्साह, विचार आदान–प्रदानको जोश र भविष्यको सपना साझा गर्ने वातावरणले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो।

 

मन्त्री राजीब विक्रम शाहले सम्बोधन गर्दै भने, “समृद्ध कर्णालीको बाटो हाम्रो एकतामा छ। हामी सबै एकताको मालामा गाँसिन सके, प्रदेशको सपना चाँडै साकार हुन्छ। युवाको ऊर्जा, सीप र सिर्जनशीलताले कर्णालीलाई नयाँ उचाइमा पुर्‍याउन सक्छ।" उनले युवालाई नीतिनिर्माणदेखि कार्यान्वयनसम्म सक्रिय भुमिका खेल्न आग्रह गर्दै प्रदेशको विकासमा सबैको हातेमालो अपरिहार्य रहेको बताए।

त्यस्तै, पूर्व मन्त्री वेदराज सिंहले अनुशासन, इमानदारी र दूरदृष्टि युवाको पहिचान बन्नुपर्नेमा जोड दिए। उनले युवालाई आफ्नो क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्दै, नेतृत्वमा नयाँ पुस्ताको उदय कर्णालीको भाग्य परिर्वतन गर्ने शक्ति भएको बताए।

बहसका क्रममा वक्ताहरूले शिक्षा, रोजगारी, उद्यमशीलता, पूर्वाधार विकास, पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षणजस्ता विषयमा गहन विचार राखे। सहभागीहरूले युवाबीच सहकार्यको संस्कार विकास गर्न, विभाजनभन्दा सहकार्यलाई प्राथमिकता दिन र प्रदेशलाई दीगो विकासको बाटोतर्फ अघि बढाउन एकमत जनाए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update