नेभिगेशन
समाचार

जीर्ण झोलुङ्गे पुलबाट जोखिम मोलेर यात्रा, स्थानीयको माग– ‘चाँडो मर्मत होस्’

मोरङको भगवतीमाई गाउँपालिका–७ र ६ जोड्ने ज्योतिगे खोलाको झोलुङ्गे पुल जीर्ण बन्दा स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। वर्षौंदेखि मर्मत नहुँदा पुलमा रहेका फलाक कुहिएर झरेका छन् भने फलामका तारसमेत जीर्ण भइसकेका छन्।

स्थानीय खगीसरा बुढाका अनुसार बर्खाको समयमा खोला बढेपछि पानीबाट तर्न नसक्ने अवस्था आउँछ, तर झोलुङ्गे पुल पनि अत्यन्त कमजोर बन्दा बाध्यतावश त्यहीँबाट जोखिमपूर्ण यात्रा गर्नुपरेको छ। "पुलका फलाक हराइसके, खुट्टा राख्न डर लाग्छ," उहाँले भन्नुभयो।

वडा नं ७ का वडाध्यक्ष पूर्ण थापाले वर्षासँगै पुलको अवस्था झन् जर्जर भएको र स्थानीयलाई गाउँपालिकाको कार्यालयसम्म आउजाउ गर्न निकै कठिन भएको बताए। उहाँका अनुसार पुल मर्मत प्रक्रिया सुरु भइसकेको छ र छिट्टै समाधान हुने अपेक्षा गरिएको छ।

ज्योतिगे खोलाका अर्का स्थानीय मानबहादुर खत्रीका अनुसार पुल तर्ने बेला सन्तुलन गुमाउने डर हुन्छ। "झोलुङ्गे पुलमा राखिएको फलक झरिसकेको छ, हिँड्नै सकिंदैन," खत्रीले बताए।

गाउँपालिकाको मुख्य बजार बेस्तडा आउन पुल नै नहुँदा दैनिक समस्या भोग्दै आएका चित्रबहादुर खड्काले विद्यार्थी, शिक्षक तथा सर्वसाधारण सबैलाई सास्ती हुने गरेको बताए। "बजार जान, विद्यालय जान, कार्यालय जान सबैलाई पुलको भर पर्नुपर्छ, तर पुलको हालत हेर्दा डर लाग्छ," खड्काको गुनासो छ।

गाउँपालिका अध्यक्ष गणेशबहादुर थापाले पुलको आवश्यकता रहेको स्थानहरूमा प्राथमिकता दिइएको र बजेट समेत विनियोजन गरिएको जानकारी दिए। "पुल मर्मत चाँडै सुरु हुनेछ, केही स्थानका लागि बजेट परिसकेको छ," अध्यक्ष थापाले बताए।

स्थानीयहरू भने वर्षौंको बेवास्तापछि बल्ल आवाज सुनिएकोमा आशावादी छन्। यद्यपि, उनीहरूले सुरक्षित आवागमनका लागि यथाशीघ्र मर्मतको माग गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update