नेभिगेशन
समाचार

सूचना तथा प्रसारण विभागद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण स्थगित

सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको कार्य हाललाई स्थगित गरेको छ। विभागले मंगलबार एक सूचना जारी गर्दै विभागबाट हुने दर्ता तथा नवीकरणको प्रक्रिया तत्कालका लागि रोकिएको जानकारी गराएको हो।

विभागका अनुसार छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा हालै गरिएको संशोधनसँगै अब अनलाइन सञ्चारमाध्यम दर्ता जिल्ला प्रशासन कार्यालयमार्फत हुने व्यवस्था मिलाइएको छ।

यसअघि विभागमार्फत अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ अनुसार दर्ता तथा नवीकरण हुँदै आएको थियो। तर अब नयाँ कानुनी व्यवस्था कार्यान्वयनमा आएसँगै सो प्रक्रिया हाललाई रोकिएको विभागले जनाएको छ।

सूचनामा भनिएको छ, “उपर्युक्त सन्दर्भमा राजपत्रमा प्रकाशित सूचनाका आधारमा यस विभागबाट अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य स्थगन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।”

नयाँ व्यवस्था अनुसार ऐनमा थपिएको दफा ७ (ख) अनुसार अनलाइन सञ्चारमाध्यम दर्ता अब अनिवार्य हुनेछ। इच्छुक सञ्चारकर्मी वा संस्थाले तोकिएको दस्तुरसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

विभागले कानुनी रूपमै स्पष्ट व्यवस्था नआएसम्मका लागि स्थगित गरिएको जानकारी गराउँदै सरोकारवालाहरुलाई सूचित गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update