नेभिगेशन
समाचार

सप्तकोशीको बढ्दो बहाव: बेलका क्षेत्र डुबान र कटानको उच्च जोखिममा

तीन दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र गतिमा बढ्दै गएपछि उदयपुरको बेलका नगरपालिका डुबान र नदी कटानको उच्च जोखिममा परेको छ।

बेलका–२, ३, ६, ८ र ९ नम्बर वडाका सप्तकोशी आसपासका बस्तीहरू बाढीको प्रत्यक्ष जोखिममा परेका छन्। ती क्षेत्रका गाउँहरूमा नदीले कटान गर्न थालेको र डुबानको सम्भावना बढेको बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले जानकारी दिइन्।

स्थिति गम्भीर बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सोमबार स्थलगत अवलोकन गरेको छ। प्रमुख लुइँटेलले सप्तकोशी नदीको कटानयुक्त क्षेत्र निरीक्षण गरी स्थानीयवासीलाई उच्च सतर्कताका साथ बस्न र सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन आग्रह गरे।

बेलकाको कोठु, डुम्रीबोट, सिसौलीलगायत क्षेत्रमा पानीको बहाव कोशीको किनार नाघेर बस्ती नजिकै आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले जोखिम क्षेत्रका बासिन्दालाई सचेत रहन अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख हरिहरनाथ योगीका अनुसार कुनै आपतकालीन अवस्था आएमा तत्काल उद्धार तथा राहत कार्यका लागि सुरक्षा निकाय पूर्ण रूपमा तयारी अवस्थामा छन्। नगरप्रमुख अशोक कार्कीले समेत जोखिमग्रस्त क्षेत्रको निरीक्षण गरी आवश्यक पूर्वतयारी थालिएको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update