नेभिगेशन
समाचार

श्वासप्रश्वासको समस्या देखिएका ६ वर्षीय बालकको कोल्टी अस्पतालमा मृत्यु

बाजुराको पुर्वीउत्तर क्षेत्रमा रहेको कोल्टी आधारभूत अस्पतालमा उपचारका क्रममा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–६ गोत्री घर भई हाल कोल्टी बजारमा बस्दै आएका ६ वर्षीय ईश्वर सार्की रहेका छन्।

स्वास्थ्यकर्मीहरूका अनुसार ईश्वरलाई बिहीबार साँझ एक्कासी स्वास्थ्यमा समस्या देखिएको थियो। श्वासप्रश्वासमा कठिनाइ, दमसम्बन्धी लक्षण र निमोनियाको प्रारम्भिक आशंका गरिएको छ। राति ११:१० बजे उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

बालक सार्की कोल्टीस्थित हातेमालो बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत थिए। विद्यालय स्रोतका अनुसार उनी नियमित स्कुल जाने र साँझ ट्युसन पढ्ने गर्थे। घटनाको दिन पनि उनी सामान्य अवस्थामा देखिएका थिए। "स्कुल र ट्युसनमा हाँस्दै खेल्दै गएका थिए, तर साँझपख अचानक बिरामी भएर अस्पताल ल्याउनुपर्‍यो," विद्यालयका लेखापाल लंक कैलाले भने।

उनका अनुसार साँझ केही असहजता देखिए पनि स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि तत्काल अस्पताल लगिएको थियो। "हामीले तत्काल अस्पताल लग्यौं, तर चिकित्सकहरूले जोगाउन सक्नुभएन," उनले भावुक हुँदै सुनाए।

कोल्टी अस्पतालले बालकको मृत्यु फोक्सोमा संक्रमण र दमको कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। यद्यपि यकिन कारणका लागि थप परीक्षण आवश्यक रहेको जनाइएको छ।

बालकको असामयिक निधनले कोल्टी बजार क्षेत्रमा शोकको वातावरण सिर्जना भएको छ। स्थानीय बासिन्दाहरूले समयमा गुणस्तरीय स्वास्थ्य सेवा नपाउँदा यस्तो दुखद घटना भएको भन्दै गुनासो पोखेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update