नेभिगेशन
समाचार

मुगुमा मुआब्जा विवादले रोकियो पुलको उद्घाटन, स्थानीय मर्कामा

✍️ 

मुगुको मुगुमकार्मारोङ गाउँपालिकाको गमघाटस्थित अल्कासाँघु नदीमाथि निर्माण भएको महत्वपूर्ण पुल तीन महिनाअघि निर्माण सम्पन्न भए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन। कारण हो—जग्गाधनीले प्राप्त गर्नुपर्ने मुआब्जा अझै नपाउनु।

नाकच्यालाग्न सडक र नाग्म लोकमार्गलाई जोड्ने गरी निर्माण गरिएको उक्त पुल २०८० माघमै ढलान सकिएको थियो। तर, छायानाथ रारा नगरपालिका–१ का धनबहादुर मल्लको निजी जमिन प्रयोग भएको भन्दै उनले पुलमार्फत सवारी सञ्चालनमा रोक लगाएका छन्। मल्लको ५८८.७५ वर्गमिटर खेतीयोग्य जमिन पुलसँगैको बाटोमा परेको छ।

जग्गाधनी मल्ल भन्छन्, “सम्झौताअनुसार मुआब्जा पाएनौँ भने पुलबाट गाडी चल्न दिने छैनौँ।”

उनले पुलको छेउमा जमिनमा हालै खेतीसमेत लगाएका छन्, जसले गर्दा सवारी आवागमन पूर्णरूपमा रोकिएको छ।

मुआब्जाका लागि २०८० मङ्सिर ५ र २०८१ वैशाख ३ गते गरी दुई पटक सहमति भए पनि सम्झौताअनुसार क्षतिपूर्ति प्राप्त नहुँदा मल्ल असन्तुष्ट छन्।

यसले सर्वसाधारणलाई गम्भीर असर पारेको छ। छायानाथ रारा नगरपालिकाका स्थानीय जयबहादुर मल्ल भन्छन्, “पुल बनेको तीन महिना भयो, तर अहिलेसम्म गाडी गुड्न सकेको छैन। खोलामै हिँडेर आउजाउ गर्नुपरेको छ।”

पुल सञ्चालनमा नआउँदा मुगुमकार्मारोङदेखि जिल्ला सदरमुकाम गमगढीसम्म पुग्नका लागि स्थानीयले महँगो भाडा तिरेर लामो यात्रा गर्नुपर्ने बाध्यता छ।

छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामका अनुसार निर्माण कम्पनी, जग्गाधनी र सडक विभागबीच समन्वय भइसकेको छ। तर, निजी जग्गाको मुआब्जा दिने विधि स्पष्ट नहुँदा समस्या भएको हो।

उनले भने, “अब विपत् व्यवस्थापन कोषबाट राहतस्वरूप नगद उपलब्ध गराएर समस्या समाधानको प्रयास भइरहेको छ।”

स्थानीय बासिन्दाहरूले चाँडोभन्दा चाँडो मुआब्जा विवाद समाधान गरी पुल सञ्चालनमा ल्याउन आग्रह गरेका छन्। उनीहरूको भनाइ छ—सरकारले पूर्वाधार बनाउँदा सम्पूर्ण प्रक्रिया पारदर्शी ढंगले अघि बढाउनुपर्ने हो, नत्र जनतालाई सास्ती मात्रै बाँकी रहन्छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update