नेभिगेशन
समाचार

जानकीको जीवदान: विकट गाउँमा नवजातको ज्यान बचाउँदै ‘भगवानसरह’ बनिन् स्वास्थ्यकर्मी

जनसेवामा समर्पित एक स्वास्थ्यकर्मीको अदम्य साहस र समर्पणले एक नवजात शिशुको ज्यान बचाएको छ। डोटीको सिगास गाउँपालिका–४ स्थित कान्धार आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमी जानकीले घन्टौँ कृत्रिम श्वास दिएर एक नवजात शिशुलाई जीवन फर्काइदिएकी हुन्।

यो दृश्य हेर्ने जोकोहीका आँखाबाट आँसु झर्थ्यो, मनबाट श्रद्धा उत्पन्न हुन्थ्यो। स्वास्थ्य सेवा केन्द्रमा प्रविधि, उपकरण, चिकित्सक केही थिएन—थियो त केवल एक सच्चा स्वास्थ्यकर्मीको सेवा भाव, सहनशीलता र साहस।

गत बिहीबार राति २० वर्षीया लक्ष्मी धामीलाई सुत्केरी व्यथाले च्यापेपछि स्थानीयले उनलाई स्वास्थ्य सेवा केन्द्र पुर्‍याए। राति साढे ९ बजे उनले छोरी जन्माइन्। तर जन्मेको शिशुमा कुनै लक्षण देखिएन—न त आवाज, न आँखा खोल्ने संकेत, न त अंग हल्लाउने प्रयास। अवस्था नाजुक थियो।

जानकीले तत्काल उच्च निकायसँग सम्पर्क गरी सहयोग मागिन्। तर रातिको समय, दुर्गम स्थान, कच्ची सडक र हेलिकप्टर सेवा उपलब्ध नभएको अवस्थाले उनलाई विकल्पहीन बनायो। यस्तो विषम घडीमा उनले हार मानिनन्।

“अरू उपाय केही देखिन, आफैँले कृत्रिम श्वास दिन थालेँ,” जानकीले भनिन्, “लगातार श्वास दिँदै गएँ। लगभग २० मिनेटपछि छाती हल्लिन थाल्यो। घ्यारघ्यार आवाज आयो। बिहान साढे ३ बजे बच्चा रोयो र हातखुट्टा चलायो।”

जानकीको समर्पण, धैर्य र साहसले अहिले उक्त शिशुको अवस्था सामान्य छ। आमा र बच्चा दुवै सकुशल छन्। यति कठिन परिस्थितिमा ज्यान जोगाइदिन सक्नु कुनै साधारण कार्य होइन।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफैं सम्पर्क गरी जानकीलाई बधाई दिएका छन्। “तपाईंले भगवानसरह काम गर्नुभयो,” मन्त्रीले भने, “सुख-सुविधाको अभावमा पनि देशको स्वास्थ्य सेवा जोगाइरहनुभएको छ। जानकीजस्ता समर्पित स्वास्थ्यकर्मी देशको अमूल्य सम्पत्ति हुन्।”

६ वर्षदेखि स्वास्थ्य सेवामा क्रियाशील जानकीले यसलाई आफ्नो धर्म ठान्छिन्। “यो मेरो पहिलोपटक थियो, यस्तो अवस्था आयो,” उनले भनिन्, “तर सकिनँ भने कसले गर्छ? अहिले देशैभरिबाट हौसला मिलेको छ।”

जानकीको कर्म र योगदान देशभरका स्वास्थ्यकर्मीका लागि प्रेरणा बनेको छ। उनका जस्ता हजारौं स्वास्थ्यकर्मी दुर्गम बस्तीहरूमा दिनरात निष्ठाका साथ सेवामा खटिएका छन्।

स्वास्थ्यकर्मी जानकीले देखाएको उदाहरणले राज्य, समाज र सबै जनतालाई चेतना दिएको छ—धन, प्रविधि र पदभन्दा माथि छ निष्ठा, सेवा र मानवीय संवेदना।

हामी सबैको सलाम छ जानकीलाई—जो साँच्चै ‘जीवनदाता’ हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update