नेभिगेशन
समाचार

हालसम्मकै धेरै लागुऔषध बरामद, सात हजारभन्दा बढी पक्राउ

पछिल्लो एक वर्षमा नेपालमा लागुऔषध नियन्त्रणमा हालसम्मकै ठुलो सफलता हात परेको छ। गृहमन्त्रालयअन्तर्गत प्रहरीले सञ्चालन गरेको महाअभियानअन्तर्गत हजारौं लागुऔषध कारोबारी पक्राउ परेका छन् भने ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सात हजार ९४३ जना स्वदेशी तथा विदेशी अभियुक्त पक्राउ परेका छन्। तीमध्ये सात हजार १९७ पुरुष, ४२१ महिला, ३०७ जना भारतीय नागरिक र १८ अन्य देशका नागरिक छन्। अघिल्लो वर्षको तुलनामा यो संख्या एक हजार २०१ ले बढी हो।

गत वर्ष ५ हजार ११० मुद्दा दर्ता भएका थिए भने यसपालि ४ हजार ४२४ मुद्दा दर्ता भएका छन्। बरामद लागुऔषधको परिमाण पनि उल्लेखनीय छ –

कोकिन: २० किलो ९२८ ग्राम

अफिम: १८५ किलो ५८ ग्राम

खैरो हिरोइन: ४८ किलो ४६५ ग्राम

चरेस: ८२९ किलो

गाँजा: ठूलो परिमाणमा


त्यस्तै, नशालु औषधिहरूको मात्रा पनि अत्याधिक छ –

एम्पुल: २ लाख २० हजार ४१० थान

नाइट्राजेपाम: ९३ हजार ४२४ थान

कोरेक्स सिरप: ८ हजार ९४० बोतल


गृहमन्त्री रमेश लेखकले पदभार सम्हालेसँगै लागुऔषध, आत्महत्या, सडक दुर्घटना र साइबर अपराधलाई नियन्त्रणका प्राथमिक चुनौतीका रूपमा चिनाउँदै कडाइ गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। त्यसैअनुसार प्रहरीले काठमाडौं उपत्यकासहित देशभर अभियान तीव्र पारेको छ।

लागुऔषध नियन्त्रण ब्युरो तथा त्यसअन्तर्गत १० वटा वडा कार्यालयले सक्रियता बढाएका छन्। ब्युरोले मात्र गत आवमा एक हजार ६७५ जनाविरुद्ध मुद्दा चलाएको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो।

त्यसैगरी, सशस्त्र प्रहरी बलले पनि एक वर्षको अवधिमा ४६० जनालाई लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ।

विश्लेषकहरूका अनुसार यो उपलब्धि प्रहरी तथा सशस्त्र प्रहरीको समन्वय, प्रविधिको प्रयोग, सीमा क्षेत्रमा निगरानी तथा सार्वजनिक सचेतनाका कारण सम्भव भएको हो।

तर, यसका बाबजुद लागुऔषधको खपत तथा ओसारपसार अझै चुनौतीकै विषय बनेको छ। सुदृढ नीति, पुनर्स्थापना कार्यक्रम र अन्तरदेशीय सहकार्य अझै आवश्यक रहेको विज्ञहरूको धारणा छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update