नेभिगेशन
बजार अर्थतन्त्र

बजारको अभाव र प्राकृतिक विपत्तिले तनहुँका कागती कृषक निराश

तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल विगत सात वर्षदेखि व्यावसायिक कागतीखेतीमा संलग्न छन्। तर, यस वर्ष बजार अभाव र प्राकृतिक विपत्तिले उनको मेहनतमा ग्रहण लागेको छ। २० रोपनी क्षेत्रफलमा फैलिएको कागती बगैँचाबाट प्रशस्त उत्पादन भएको भए पनि बिक्री नहुँदा उनले आफ्नो उत्पादन बारीमै कुहिन दिनुपर्ने अवस्था आएको गुनासो गरेका छन्।

“गाडी पुग्ने बाटो नहुँदा कागती बोकेर गाडीसम्म लैजाँदा लागत अत्यधिक पर्छ,” मल्ल भन्छन्, “त्यसमाथि बजारमा उचित मूल्य पनि नपाउँदा हाम्राे खेती घाटामै जान थालेको छ।”

यसअघि चितवन, दमौली र पोखरामा बिक्री गर्दै आएका मल्लले यसपालि ती बजारमा कागतीको माग नदेखिएपछि काठमाडौँको कालीमाटी तरकारी बजार पुगेर व्यापारीसँग अनुरोध गर्नुपरेको बताएका छन्। उनले ३० केजीभन्दा बढी खरिद गर्न इच्छुकलाई बारीमै आएर छानीछानी टिप्न दिने व्यवस्था पनि गरेका छन्।

मल्ल भन्छन्, “स्थानीय तहले बजारको व्यवस्था गरिदिएको भए आज हामीजस्ता कृषकले उत्पादन बेच्न काठमाडौँ धाउनु पर्ने थिएन। स्थानीय सरकारको दायित्व भनेको कृषकलाई प्रोत्साहन गर्नु पनि हो, तर हामीले त्यस्तो सहयोग कहिल्यै पाएनौँ।”

बजार अभावसँगै मौसमजन्य विपत्तिले पनि मल्ललाई झनै निराश बनाएको छ। गत जेठ १ र २ गते आएको हावाहुरीले उनका करिब ५० वटा कागतीका बोटमा क्षति पुर्‍यायो। ५०० बोटभन्दा बढी कागती हुर्काएका मल्ल भन्छन्, “प्राकृतिक प्रकोपले वर्षेनी क्षति त हुँदै आइरहेको छ, तर कतैबाट राहत पाउने त कुरै भएन।”

देशमै बसेर केही गरौँ भन्ने सोचसहित युवा उमेरमै कृषिमा लागेका मल्लजस्ता किसानको संघर्ष बजार अभाव, पूर्वाधारको कमी र सरकारी उपेक्षाको मारमा परेको देखिन्छ। उत्पादनको मूल्य नपाउने, पूर्वाधारको अभावमा लागत बढ्ने र विपत्तिमा राहत नपाउने अवस्था कायमै रहे कृषकहरू फेरि पनि निराश हुन बाध्य छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update