नेपाल एथलेटिक्स संघको अध्यक्षमा राजीवविक्रम शाह तेस्रो कार्यकालका लागि निर्विरोध चयन भएका छन्। बुधबार काठमाडौंमा सम्पन्न संघको चुनावी साधारणसभाबाट शाह पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन्।
खेलकुद ऐन कार्यान्वयनबीच नेतृत्वमा निरन्तरता
खेलकुद ऐन कार्यान्वयन भइसकेको अवस्थामा समेत शाह दोस्रोपटक अध्यक्ष बनेका हुन्। यसअघि उनी २०७९ सालमा अध्यक्षमा निर्वाचित भएका थिए। कर्णाली प्रदेशका अर्थमन्त्रीसमेत रहेका शाहले चुनौतिकाबीच प्राप्त यो जिम्मेवारीलाई ऐतिहासिक अवसरको रूपमा लिएका छन्।
“संघलाई व्यवस्थित, पारदर्शी र खेलाडीमुखी बनाउन सबैको सहयोगको अपेक्षा लिएको बताएका छन्”
विरोधका आवाज र न्यायिक प्रक्रिया बीच निर्वाचन सम्पन्न
शाहको उम्मेदवारीलाई लिएर एक समूहले अदालतमा मुद्दा दायर गरेका थिए भने पत्रकार सम्मेलनमार्फत असन्तुष्टि पनि व्यक्त गरिएको थियो। यद्यपि, यसअघि कार्यरत कार्यसमितिका बहुमत सदस्य निर्वाचनमा सहभागी भएनन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तेस्रोपटक तदर्थ समिति गठन गरेपछि अन्ततः निर्वाचन प्रक्रिया अगाडि बढेको थियो।
१६ सदस्यीय कार्यसमितिमा विविध पृष्ठभूमिका व्यक्तिहरू समावेश भएका छन्। उपाध्यक्ष पदमा कोमल वली, जगतसिंह धामी, शैलेन्द्र खनाल, सन्तोषकुमार ढकाल, तेजेन्द्र थापा र गजबहादुर गुरुङ निर्वाचित भएका छन्।
राधाकृष्ण विष्ट (आरके) संघको सचिवमा निर्वाचित भएका छन् भने मोहनबहादुर घले कोषाध्यक्षमा निर्विरोध चयन भएका छन्।
सदस्य पदमा सञ्जीव तुलाधर, अन्जु चौधरी, दिलबहादुर बम, नन्दु काउचा, अनिरुद्रकुमार चौधरी, मोजाउल हक, शिवलाल आचार्य र पद्मा चौधरी निर्वाचित भएका छन्।
अनुभवी र चर्चित व्यक्तित्वको उपस्थिति
निर्वाचित टोलीमा राखेप बोर्ड सदस्य जगतसिंह धामी, नेपाल प्रहरीका पूर्वआइजिपी शैलेन्द्र खनाल, एमालेकी पूर्वसांसद कोमल वली, तथा नेपाली सेनाका पूर्वजर्नेल तेजेन्द्र ढकाल जस्ता अनुभवी र चर्चित व्यक्तित्वको उपस्थिति देखिएको छ।
अन्तर्राष्ट्रिय सहभागिता र उद्घाटन समारोह
साधारणसभाको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गरेका थिए। कार्यक्रममा एसियाली एथलेटिक्स महासंघका महासचिव तथा सिंगापुरका प्रतिनिधि सुबु मारनको विशेष उपस्थिति पनि रहेको थियो, जसले निर्वाचनको पारदर्शिता र महत्त्वलाई थप उचाइ दिएको बताइएको छ।