नेभिगेशन
समाचार

कोहलपुर नगरपालिकाको 'आवास निर्माण कार्यक्रम' : विपन्न नागरिकलाई एक लाख रुपैयाँसम्म ऋण सहायता

विपन्न तथा अति विपन्न नगरवासीका लागि कोहलपुर नगरपालिकाले 'आवास निर्माण कार्यक्रम' सार्वजनिक गरेको छ। लुमन्ती तथा एनएमबी बैंकसँगको सहकार्यमा सुरु गरिएको यो कार्यक्रमअन्तर्गत घर निर्माण वा मर्मत गर्न चाहने नगरवासीहरूले अधिकतम एक लाख रुपैयाँसम्मको आवास ऋण पाउने भएका छन्।

नगरपालिकाले साउन मसान्तसम्म निवेदन दिन आह्वान गर्दै वडानम्बर १ देखि १५ का सबै वडाध्यक्षहरूलाई औपचारिक सूचना पठाएको छ। कार्यक्रमबाट घर नहुने, जीर्ण घरमा बसोबास गरिरहेका तथा आर्थिक अभावका कारण मर्मत गर्न नसकेका नागरिकहरू लाभान्वित हुनेछन्।

ऋणको अवधि अधिकतम सात वर्षको हुनेछ भने वार्षिक ब्याजदर ८.५ प्रतिशत कायम गरिएको छ। नगरपालिकाका अनुसार उक्त ब्याजदर आगामी सात वर्षसम्म स्थिर रहनेछ, जसले समयमै ऋण तिर्ने सेवाग्राहीहरूलाई थप आर्थिक भार नपर्नेछ।

आवासविहीन नागरिकलाई स्वाभिमानसाथ बस्न सक्ने वातावरण तयार पार्ने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ। स्थानीय सरकार, टोल विकास संस्था र वडा कार्यालयमार्फत लाभग्राहीको पहिचान गरी ऋण वितरण प्रक्रिया अघि बढाइनेछ।

ऋणका लागि आवेदन दिन इच्छुक सेवाग्राहीहरूले टोल विकास संस्थाको सिफारिस, सम्बन्धित वडा कार्यालयको सिफारिस, जग्गाधनी प्रमाण (लालपुर्जा), नागरिकताको प्रतिलिपि, घर निर्माणको नक्सा र पासपोर्ट साइज फोटो सहित निवेदन दिनुपर्नेछ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीद्वारा जारी सूचनामा भनिएको छ, "वास्तवमै आवश्यक व्यक्तिहरूले समयमै आवेदन दिई यो सुविधा लिनु महत्वपूर्ण छ।"

कार्यक्रमबाट सामाजिक समावेशीता, समानता र आत्मसम्मानयुक्त जीवनयापनको वातावरण निर्माण हुने विश्वास लिइएको छ। नगर क्षेत्रका विपन्न समुदायको शिक्षा, स्वास्थ्य र सुरक्षामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update