नेभिगेशन
समाचार

डिल्लीबजार कारागारमा रहेका दुर्गा प्रसाईंको गुनासो : “हातखुट्टा बाँधिएको कैदी बनेर बस्नुपरेको छ”

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू हातखुट्टा बाँधिएको कैदी बनेर डिल्लीबजार कारागारमा बस्नुपरेको गुनासो गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भावनात्मक सन्देश दिँदै उनले राज्यसत्ताबाट अन्याय भएको आरोप लगाए ।

तीनकुने घटनापछि पक्राउ परेका प्रसाईं हाल डिल्लीबजार कारागारमा रहेका छन् । कारागारमै रहेर लेखेको भनिएको स्टाटसमा उनले भनेका छन्, “म देशमा स्थायित्व चाहने मान्छे हुँ, शान्ति चाहने मान्छे हुँ, म गरी खान रुचाउने मान्छे हुँ । आज हातखुट्टा बाँधिएको कैदी बनेर बस्नुपरेको छ ।”

बैंक ऋणप्रति उठेका प्रश्नको जवाफ दिँदै उनले आफैंको सम्पत्ति धितो राखेर लिएको ऋण नियमित रूपमा किस्ता तिर्दै आएको बताएका छन् । “अस्पताल र स्कुल सञ्चालनमा छन्, पाँचतारे होटल निर्माणाधीन अवस्थामा छ । म कारागारमा छु तर पनि नियमित किस्ता बुझाइरहेको छु,” उनले लेखेका छन्, “मलाई सक्काउन के बाँकी राखिएको थियो र?”

प्रसाईंले कम्युनिस्ट आन्दोलनको एकता र स्थायित्वका लागि पहल गरेको पनि उल्लेख गरेका छन् । “स्थायित्व होस् भनेर कम्युनिस्ट पार्टी एक गराउने पहल नगरेको हुँ र मैले?” उनले प्रश्न गरेका छन् ।

उनले व्यक्तिगत हितभन्दा पनि देशको हितमा बढी सोचेको दाबी गर्दै आफूले न्यायको अपेक्षा गरेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update