नेभिगेशन
समाचार

राष्ट्रपति भण्डारीको पत्रकार सम्मेलनमा भीड, तर ऐमाले नेताहरू अनुपस्थित

राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको पत्रकार सम्मेलनमा आज बाक्लो संख्यामा सञ्चारकर्मीहरूको उपस्थिति देखिएको छ। तर, कार्यक्रममा एमालेका शीर्ष नेताहरू र चिनिएका अनुहारहरूको अनुपस्थिति खट्किएको छ।

कार्यक्रममा मञ्चमा राष्ट्रपति भण्डारी एक्लै थिइन् भने सम्बोधन पनि उनले एकल रूपमा गरिन्। एमाले केन्द्रीय समितिमा ‘नोट अफ डिसेन्ट’ लेख्ने नेताहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र कर्ण थापा पत्रकार सम्मेलनमा अनुपस्थित रहे।

पार्टीको संस्थापन पक्षविरुद्ध उभिएका भण्डारीसँग हाल निकट मानिएका मोरङका नेता विनोद ढकाल भने कार्यक्रममा देखिए।

कार्यक्रममा एमालेका भ्रातृ संगठनहरूका निर्वाचनमा पराजित उम्मेदवारहरू सुमन पुरी (युवासंघ) र प्रकाश पौडेल (अनेरास्ववियु) पनि देखिएका थिए। उनीहरू केही दिनअघि भण्डारीसँग पशुपति मन्दिर दर्शनमा पनि साथ दिएका थिए।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्यहरू भने सहभागी भएनन्। तर, कोशी प्रदेशका पराजित अध्यक्ष उम्मेदवार ढकाल, बागमती प्रदेशका कृष्णप्रसाद दाहाल, सिन्धुपाल्चोकका पूर्वअध्यक्ष कमल नेपाल, भोजपुरका पूर्वअध्यक्ष शरणकुमार राईलगायत केही नेताहरू भने देखिएका थिए।

यस्तै, केही दिनअघि च्यासलस्थित पार्टी कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएका बेला पनि भण्डारीसँगै यिनीहरूको उपस्थिति देखिएको थियो।

एमाले केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले पराजित युवाहरूलाई लक्षित गर्दै कटाक्ष गरेका थिए। उनले भनेका थिए, “उहाँ पार्टी कार्यालय आउँदा केही असन्तुष्ट र आफैँ चुनाव गराएर हारेका केही समूहहरू पनि देखिए, जो पशुपतिमा समेत देखिएका थिए।”

पार्टीभित्रको असन्तुष्टि र विभाजन झन् तीव्र बन्दै गएको संकेत दिँदै भण्डारीको सक्रियता र नेताहरूको अनुपस्थितिले एमालेको आन्तरिक राजनीति फेरि चर्चाको केन्द्रमा आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update