नेभिगेशन
प्रदेश

लागुऔषध कारोबार झापामा ‘मेला’, ४३ जना पक्राउ

झापाको मेचीनगरस्थित कालिका सिमसार क्षेत्र लागुऔषध कारोबारको केन्द्र बन्दै गएको तथ्य सार्वजनिक भएको छ। मंगलबार साँझ करीब ६ बजे त्यही क्षेत्रमा लागुऔषध खरिद गर्न भेला भएका ४३ जनालाई प्रहरीले एकैपटक नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय धुलाबारी, प्रहरी चौकी चारआली, जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रूपमा खटिएको टोलीले कालिका सामुदायिक वनमा 'स्वीप अपरेशन' सञ्चालन गर्दै ती युवकहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरू १५ देखि ४० वर्ष उमेर समूहका पुरुषहरू हुन्। उनीहरू लागुऔषध खरीद गर्न आएका बेला पक्राउ परे पनि कारोबारीहरू भने भाग्न सफल भएका छन्। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ। प्रहरीले उनीहरूको साथबाट लागुऔषध पनि बरामद गरेको छ तर परिमाण खुलाइएको छैन।

घटनास्थलबाट प्रहरीले १४ वटा मोटरसाइकल, एउटा अटो र एउटा मारुती भ्यानसमेत नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकाहरू प्रायः अर्जुनधारा नगरपालिका र बिर्तामोड नगर क्षेत्रका हुन्।

प्रहरी अधिकारीहरूले सामुदायिक बन क्षेत्रमा यस्तो अवैध क्रियाकलाप हुनु समाजका लागि खतरनाक संकेत भएको भन्दै बन समिति तथा स्थानीय समुदाय पनि सजग र जिम्मेवार बन्नुपर्ने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update