नेभिगेशन
प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा ३५० किलोमिटर सडक निर्माण गरेको दाबी मुख्यमन्त्री शाहद्वारा एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले पछिल्लो एक वर्षमा ३५० किलोमिटरभन्दा बढी सडक निर्माण गरेको दाबी गरेका छन्।

मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले सरकारको एक वर्षे कार्यकालको उपलब्धिहरू सार्वजनिक गर्दै, पूर्वाधार विकासदेखि सामाजिक क्षेत्रसम्म सरकारको सक्रियता उल्लेख गरे।

उनका अनुसार प्रदेशभर एक वर्षको अवधिमा १०६ किलोमिटर सडक कालोपत्रे, १०२ किलोमिटर ग्राभेल, र १४६ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ। यस अवधिमा ६ वटा सडक पुल निर्माण सम्पन्न गरिनुका साथै भूमिगत तथा सतह सिँचाइ आयोजना मार्फत १,००३ हेक्टरमा सिँचाइ सुविधा विस्तार गरिएको उनले जानकारी दिए।

त्यस्तै, बाढी र कटानबाट बचाउनका लागि २६.८३ किलोमिटर तटबन्ध निर्माण गरिएको र ३७.५ हेक्टर जमिन जोगाइएको उल्लेख छ।

"सडक, सिँचाइ, खानेपानी, भवनजस्ता पूर्वाधारसँगै कृषि उत्पादन वृद्धि, शिक्षा र स्वास्थ्यमा सुधार हाम्रो प्राथमिकता बन्यो," शाहले भने, "मुख्यमन्त्रीको रूपमा दोस्रोपटक नियुक्त भएको एक वर्ष नाघेको अवसरमा हामीले सार्वजनिक रुपमा उपलब्धि प्रस्तुत गरेका हौं।"

गत वर्ष साउन २० गते सत्ता समीकरण फेरिएसँगै शाह दोस्रोपटक मुख्यमन्त्री बनेका थिए। उनले राजधानी निर्माणका लागि तोकिएको स्थानमा जग्गा प्राप्तिको पहल भइरहेको र विकल्पबारे समेत छलफल भइरहेको जानकारी पनि दिए।

मुख्यमन्त्री शाहले मन्त्रालयगत समन्वयमार्फत सेवा प्रवाहमा सुधार ल्याउने र समावेशी विकासलाई प्राथमिकता दिने प्रतिबद्धता पनि दोहोर्‍याए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update