नेभिगेशन
समाचार

कर्णालीका स्थानीय तहमा एक चौथाइ कर्मचारी दरबन्दी रिक्त

भौगोलिक रूपमा विकट मानिने कर्णाली प्रदेशका स्थानीय तहहरूमा कर्मचारी अभाव गम्भीर बन्दै गएको छ । प्रदेशभरका ७९ स्थानीय तहमा स्वीकृत दरबन्दीअनुसार करिब एक चौथाइ कर्मचारी पद रिक्त रहेको तथ्य सार्वजनिक भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश, सुर्खेतका अनुसार प्रदेशभर कूल पाँच हजार ६६० स्वीकृत दरबन्दीमध्ये एक हजार ३६३ पद रिक्त रहेका छन् । हाल चार हजार २९७ कर्मचारी मात्रै कार्यरत रहेको कार्यालयका सचिव लक्ष्मीकुमार विकले जानकारी दिए ।


कार्यालयले स्थानीय तहबाट प्राप्त विवरणका आधारमा शिक्षा सेवातर्फ पाँचौँदेखि नवौँ/दशौँ तहसम्मका १८३ स्वीकृत दरबन्दीमध्ये १३२ पदमा मात्रै कर्मचारी कार्यरत रहेको जनाएको छ । यस क्षेत्रमा ५१ पद रिक्त छन् ।


इञ्जिनियरिङ सेवामा अवस्था झनै कमजोर देखिएको छ । एक हजार ५५ स्वीकृत दरबन्दीमध्ये ६३४ पदमा मात्रै कर्मचारी कार्यरत छन् भने ४२१ पद रिक्त छन् । सचिव विकका अनुसार यस सेवाको नवौँ/दशौँ तहमा भने कुनै पनि पदपूर्ति हुन सकेको छैन ।
प्रशासन सेवातर्फ एक हजार ५४१ स्वीकृत दरबन्दीमध्ये एक हजार ६४ पदमा कर्मचारी कार्यरत हुँदा ४७७ पद खाली छन् । स्वास्थ्य सेवामा भने तुलनात्मक रूपमा स्थिति राम्रो देखिएको छ । एक हजार ८८४ स्वीकृत दरबन्दीमध्ये एक हजार ७३२ पदमा कर्मचारी कार्यरत छन् भने १५२ पद रिक्त रहेका छन् ।


यस्तै कृषि सेवातर्फ ८१४ स्वीकृत दरबन्दीमध्ये ५७७ पदमा मात्रै कर्मचारी कार्यरत छन् भने २३७ पद खाली रहेका छन् । विविध सेवातर्फ १८३ स्वीकृत दरबन्दीमध्ये १५८ पदमा कर्मचारी कार्यरत छन् भने २५ पद रिक्त छन् ।
स्थानीय तहअनुसार हेर्दा डोल्पाको डोल्पो बुद्ध गाउँपालिकामा सबैभन्दा बढी कर्मचारी अभाव देखिएको छ । त्यहाँ ५३ स्वीकृत दरबन्दीमध्ये १५ जना मात्रै कार्यरत छन् । अर्कोतर्फ वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा भने १०५ स्वीकृत दरबन्दीमा ११६ जना कर्मचारी कार्यरत रहेको तथ्यांकले देखाएको छ । अर्थात् उक्त पालिकामा ११ जना कर्मचारी बढी रहेका छन् ।


सचिव विकले डोल्पो बुद्ध गाउँपालिकामा करार सेवामार्फत काम सञ्चालन भइरहेको हुनसक्ने बताए । उनले अब प्रदेश सरकारले सबै स्थानीय तहको रिक्त दरबन्दीको अद्यावधिक विवरण संकलन गरी प्रदेश लोकसेवा आयोगमार्फत पदपूर्तिको प्रक्रिया अघि बढाउने जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update