नेभिगेशन
समाचार

सात महिनापछि संघीय संसद् सक्रिय: पहिलो अधिवेशन आजदेखि, चैत २२ मा सभामुख चयन

प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएको करिब सात महिनापछि संघीय संसद्को पहिलो अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो २ बजे एकसाथ बस्ने तय भएको छ।
प्रतिनिधि सभाको बैठक निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्नेछ भने राष्ट्रिय सभाको बैठक संघीय संसद् सचिवालयस्थित आफ्नै कक्षमा सञ्चालन हुनेछ। आकस्मिक र विशिष्ट परिस्थितिमा निर्वाचन सम्पन्न भएपछि लामो अन्तरालपछि संसद् अधिवेशन सुरु हुन लागेको हो।
अधिवेशनको पूर्वसन्ध्यामा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा सर्वदलीय बैठक बसेको थियो। बैठकले पहिलो बैठकको कार्यसूची र भावी कार्यदिशाबारे छलफल गर्दै सभामुख चयनको प्रक्रिया तत्काल अघि बढाउने सहमति गरेको छ।
सम्भावित कार्यसूची
पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइनेछ। साथै मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएको जानकारी पनि सदनलाई गराइनेछ।
प्रतिनिधि सभा नियमावली तर्जुमा नभएसम्म पुरानै नियमावलीअनुसार काम अघि बढाउने प्रस्ताव पारित गरिने सम्भावना छ। सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्ष मण्डलका सदस्यहरू मनोनयन गर्ने कार्यसूची पनि समावेश छ।
यसबीच, अधिवेशन नभएको समयमा सरकारले सिफारिस गरी राष्ट्रपतिबाट जारी गरिएका अध्यादेशहरू पनि सदनमा प्रस्तुत गरिनेछन्। प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन), नेपाल विशेष सेवा (दोस्रो संशोधन) र मतदाता नामावली (पहिलो संशोधन) सम्बन्धी अध्यादेश पेस हुनेछन्।
अधिवेशन प्रारम्भका अवसरमा विभिन्न दलका प्रतिनिधिहरूले मन्तव्य राख्ने कार्यक्रम पनि तय गरिएको छ।
चैत २२ मा सभामुख चयन
सर्वदलीय सहमतिअनुसार चैत २२ गते सभामुख चयन गर्ने कार्यतालिका तय भएको छ। चैत २० गते उम्मेदवारी दर्ता हुने र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
संवैधानिक व्यवस्थाअनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्नेछ। साथै, सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गबाट चयन हुनुपर्ने प्रावधान पनि लागू हुनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद (डिपी) अर्याललाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ। यदि उहाँ सभामुख निर्वाचित भएमा उपसभामुख पदमा अन्य दलबाट महिला सदस्य चयन हुने सम्भावना छ।

पहिलो बैठकमा दिवंगत संविधान सभा तथा राष्ट्रिय सभा सदस्यहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरिनेछ। ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, बलदेव बोहरा तथा पूर्वसांसद होमनाथ दाहालको निधनप्रति सदनले शोक व्यक्त गर्ने कार्यसूची रहेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update