नेभिगेशन
समाचार

प्रधानमन्त्री शाहसँगकाे छलफलमा सांसद ज्ञानबहादुर शाहीले के ब्रिफिङ गर्नुभयाे ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता तथा जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष कर्णाली प्रदेशको विकाससँग सम्बन्धित बजेट, पूर्वाधार र नीतिगत समस्याबारे विस्तृत ब्रिफिङ गर्नुभएको छ।


सोमबार प्रधानमन्त्री शाहले कर्णाली प्रदेशका सबै सांसदहरूलाई बोलाएर प्रदेशगत तथा क्षेत्रगत समस्या र समाधानका उपायबारे छलफल गर्नुभएको थियो। उक्त छलफलमा सांसद शाहीले कर्णालीलाई बजेट विनियोजनमा निरन्तर उपेक्षा गरिएको गुनासो गर्दै आगामी दिनमा यस्तो अवस्था दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।


छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले कर्णाली राजमार्गसहित अन्तरजिल्ला सडक सञ्जाल विस्तारलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ। साथै, निर्माण कार्य समयमै सम्पन्न नगर्ने ठेकेदार तथा कम्पनीहरूको लाइसेन्स खारेज गर्नुपर्ने माग पनि उहाँले राख्नुभयो।
त्यस्तै, कर्णालीमा उत्पादन हुने स्याउ र जडीबुटीको बजारीकरण सहज बनाउन विद्यमान कानुनी अवरोध हटाउनुपर्ने आवश्यकता औंल्याउँदै वन ऐन संशोधन गरी ढुवानी प्रक्रियालाई सरल बनाउनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो।
सांसद शाहीका अनुसार सहकारी पीडितहरूको बचत रकम फिर्ता, किसानलाई समयमै मल उपलब्ध गराउने विषयमा समेत छलफल भएको छ। साथै, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि विधि र प्रक्रिया पूरा गरेर अघि बढ्न सरकारलाई आग्रह गरिएको उहाँले बताउनुभयो।
कर्णालीको समग्र विकासका लागि ठोस नीति, पर्याप्त बजेट र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको शाहीको जोड थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update