नेभिगेशन
समाचार

जाजरकोटबाट खड्गबहादुर बुढाको संसदीय यात्रा सुरु, विकास र रोजगारी प्राथमिकतामा

शिवालय गाउँपालिका–९, नहाडामा जन्मिएका खड्गबहादुर बुढाले पहिलो पटक संसदीय यात्रा सुरु गर्नुभएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट विजयी भएपछि उहाँ संघीय संसद्मा प्रवेश गर्नुभएको हो।
जाजरकोट को एक मात्र निर्वाचन क्षेत्रबाट निर्वाचित बुढाले नेकपा नेता तथा तीन पटक मन्त्री भइसकेका शक्तिबहादुर बस्नेत लाई पराजित गर्दै ऐतिहासिक जित हासिल गर्नुभएको हो। यससँगै करिब तीन दशकपछि यस क्षेत्रबाट नेपाली कांग्रेसले संसदीय प्रतिनिधित्व पाएको छ।
राजनीतिक जीवन नेपाल विद्यार्थी सङ्घ बाट सुरु गर्नुभएका बुढा पार्टीको १३ औँ महाधिवेशनमा जिल्ला कार्यसमितिको सचिव र १४ औँ महाधिवेशनमा उपसभापति रहँदै सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।
निर्वाचनपछि उहाँले जिल्लाको समग्र विकासलाई केन्द्रमा राख्दै पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। “जाजरकोटका जनताले गरेको आशा र भरोसाअनुसार काम गर्न गम्भीर भएर लाग्नेछु,” उहाँले भन्नुभयो। जनतासँग प्रत्यक्ष सम्पर्कमा रही नीतिनिर्माण तथा कार्यक्रम तर्जुमा गर्ने उहाँको योजना छ।


बुढाले कर्णाली प्रदेश का गौरवका आयोजनाहरू—नलगाड जलविद्युत् आयोजना, जाजरकोट–जुम्ला सडक, मध्यपहाडी लोकमार्ग तथा लुम्बिनी–रारा राजमार्गलाई तीव्रता दिने बताउनुभएको छ। साथै, विद्युतीकरण, खानेपानी, कृषि विकास र रोजगारी सिर्जनालाई समेत प्राथमिकतामा राखिनेछ।
लामो समयदेखि अलपत्र रहेका नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ जोड्ने पक्की पुल, छेडागाड नगरपालिका क्षेत्रका खाराखोला पुल तथा भेरी कोरिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डका पुलहरू निर्माण सम्पन्न गराउने उहाँको लक्ष्य छ।


त्यस्तै जिल्लाका सातवटै स्थानीय तहमा निर्माणाधीन गाउँ तथा नगर अस्पतालको काम पूरा गर्न समन्वय र सहकार्यलाई अघि बढाइने उहाँले बताउनुभयो। स्थानीय उत्पादनको बजारीकरण, ग्रामीण सडक स्तरोन्नति, गुणस्तरीय शिक्षाका लागि लगानी, विपन्न बालबालिकालाई छात्रवृत्ति तथा युवालाई उद्यमशील बनाउँदै रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याइने उहाँको भनाइ छ।
संसद्मा प्रतिपक्षको जिम्मेवार भूमिका निर्वाह गर्दै जाजरकोटको विकासमा केन्द्रित रहने अठोट व्यक्त गर्दै बुढाले जनताको शिर झुक्न नदिने प्रतिबद्धता दोहोर्‍याउनुभएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update