नेभिगेशन
समाचार

एसईई तयारीका लागि नमूना परीक्षा सुरु

सल्यानको छत्रेश्वरी गाउँपालिका–५ ले कक्षा १० का विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि तयार बनाउन सोमबारदेखि नमूना परीक्षा सुरु गरेको छ। विद्यार्थीलाई आत्मविश्वासी बनाउने र परीक्षा प्रणालीबारे व्यावहारिक अनुभव दिलाउने उद्देश्यले परीक्षा सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतका अनुसार वडाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत विद्यार्थीको सिकाइस्तर सुधार गर्न नमूना परीक्षा सञ्चालन गरिएको हो। उहाँले अभ्यास परीक्षाले विद्यार्थीलाई वास्तविक एसईई परीक्षाको वातावरण बुझ्न र तयारीलाई मजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो।
नमूना परीक्षामा वडा भित्रका दुई विद्यालयका ४० विद्यार्थी सहभागी छन्। महेन्द्र माध्यमिक विद्यालय पाखापानीका २२ र त्रिभुवन जनता माध्यमिक विद्यालय चौरपानीका १८ विद्यार्थीले परीक्षा दिइरहेका छन्।
शिक्षकहरूका अनुसार परीक्षामा विद्यार्थीहरू उत्साहित देखिएका छन्।

प्रश्नपत्र तयारीदेखि उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनसम्मको प्रक्रिया वास्तविक एसईईको ढाँचामा सञ्चालन गरिएको छ। यसले समय व्यवस्थापन, प्रश्न बुझ्ने क्षमता र उत्तर लेख्ने शैली सुधार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
वडा अध्यक्ष बस्नेतले यो कार्यक्रम विगत वर्षदेखि सञ्चालन हुँदै आएको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि निरन्तरता दिने योजना रहेको बताउनुभयो। साथै अभिभावकहरूले पनि यस्ता अभ्यास परीक्षाले विद्यार्थीलाई जिम्मेवार र आत्मविश्वासी बनाउन मद्दत गर्ने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update