नेभिगेशन
समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी जाजरकोटको स्पष्टिकरण

शिबालय गाउपालिका कमिटी २०८२ असोज २४ मै विघटन, बिरेन्द्र कठायत जिम्मेवारीमा नरहेको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाजरकोटले शिबालय गाउँपालिका कमिटीसम्बन्धी पछिल्लो भ्रम चिर्दै औपचारिक धारणा सार्वजनिक गरेको छ। जिल्ला समितिले जारी गरेको जानकारीअनुसार २०८२ असोज २४ गते बसेको बैठकले तत्कालीन सभापति बिरेन्द्र कठायतको व्यवहार, आचरण र गतिविधि पार्टीको नीति–निर्देशन विपरीत तथा शंकास्पद देखिएको निष्कर्षसहित शिबालय गाउँपालिका कमिटी विघटन गर्ने निर्णय गरेको थियो।


उक्त बैठक बिरेन्द्र कठायतकै सभापतित्वमा तथा जिल्ला सभापति महेश सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको बताइएको छ। बैठकले संगठनात्मक शुचित्ता, अनुशासन र विश्वसनीयता कायम राख्ने उद्देश्यले कमिटी विघटन गर्दै आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको जिल्ला समितिको दाबी छ।
तर हालै केही दिनअघि सामाजिक सञ्जालमा बिरेन्द्र कठायतले आफूलाई शिबालय गाउँपालिकाको रास्वपा सभापति भनेर फेसबुक प्रोफाइल राखेको तथा “रास्वपा शिबालय गाउँपालिका सभापति एमालेमा प्रवेश” गरेको भन्ने समाचार सार्वजनिक भएपछि पार्टीले त्यसलाई “भ्रम सिर्जना गर्ने प्रयास” भनेको छ।


जिल्ला समितिले स्पष्ट पारेको छ—बिरेन्द्र कठायत २०८२ असोज २४ गतेदेखि नै कारबाहीमा परिसकेको व्यक्ति हुन् र पार्टीको कुनै पनि जिम्मेवार पदमा छैनन्। त्यसैले उनीसँग जोडिएका दाबी, पद उल्लेख वा राजनीतिक आवद्धतासम्बन्धी प्रचारलाई आधिकारिक नमान्न आग्रह गरिएको छ।
रास्वपाले संगठनलाई अनुशासित, पारदर्शी र जिम्मेवार ढंगले अघि बढाउने प्रतिबद्धता दोहोर्‍याउँदै सत्यतथ्यमा आधारित सूचना मात्र विश्वास गर्न सर्वसाधारण र कार्यकर्तालाई अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update