नेभिगेशन
प्रवास

बंगलादेशको चुनावमा मतदान सुरु, प्रधानमन्त्री पदका लागि तारिक, शफिकुर र नाहिदबीच कडा प्रतिस्पर्धा

बंगलादेशमा राष्ट्रिय निर्वाचनअन्तर्गत आजबाट मतदान सुरु भएको छ । यस निर्वाचनमा ५१ वटा राजनीतिक पार्टी सत्ता हासिल गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन् । यसपटक करिब १२.७ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन् ।
निर्वाचनमा युवा मतदाताको भूमिका निकै निर्णायक मानिएको छ । किनकि करिब आधा मतदाता १८ देखि ३७ वर्ष उमेर समूहका छन् । तीमध्ये करिब ४५ लाख मतदाता पहिलोपटक मतदान गर्दै छन् ।


यस निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री पदका लागि सबैभन्दा बलिया दाबेदार मानिएका छन् । बीएनपी सत्तामा आउन सक्ने सबैभन्दा ठूलो सम्भावनायुक्त दलका रूपमा हेरिएको छ । यदि बीएनपीले चुनाव जितेमा तारिक रहमान देशको आगामी प्रधानमन्त्री बन्नेछन् ।
तारिक रहमान १७ वर्ष लामो निर्वासित जीवन बिताएर गत डिसेम्बरमा मात्रै स्वदेश फर्किएका हुन् । उनी फर्किएको केही दिनमै उनकी आमा तथा बीएनपी अध्यक्ष खालिदा जियाको निधन भएको थियो ।

त्यसपछि पार्टीको सम्पूर्ण नेतृत्व तारिककै हातमा आएको छ । यद्यपि, उनीमाथि २००१ देखि २००६ सम्म खालिदा प्रधानमन्त्री हुँदा भ्रष्टाचारमा संलग्न भएको आरोप लागेको थियो । २००७ मा अन्तरिम सरकारका समयमा उनले करिब १८ महिना जेल सजायसमेत भोगेका थिए । पक्राउबाट बच्न उनी २००८ मा उपचारको बहानामा लन्डन गएका थिए र शेख हसिनाको शासनभरि तथा उनको सत्ता ढलेको एक वर्षसम्म पनि स्वदेश फर्किएका थिएनन् ।


गत डिसेम्बरमा भएको एक सर्वेक्षणमा बीएनपीलाई ७० प्रतिशत जनसमर्थन देखिएको थियो । यद्यपि पछिल्ला समयमा कट्टर मुस्लिम पार्टी जमात–ए–इस्लामी र २०२४ को विद्यार्थी आन्दोलनबाट उदाएको नेसनल सिटीजन पार्टी (एनसीपी) को जनमत बढ्दै गएको बताइन्छ । खालिदा जियाको निधनपछि बीएनपीलाई सहानुभूतिका मतसमेत बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री पदका लागि दोस्रो बलिया दाबेदार जमात–ए–इस्लामीका प्रमुख शफिकुर रहमान हुन् । जमातलाई कट्टरपन्थी इस्लामिक पार्टी मानिन्छ । बंगलादेश स्वतन्त्र भएपछि अहिलेसम्म यो पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पाएको छैन । तर कट्टरपन्थी समुदाय यसको मुख्य भोटबैंक मानिन्छ । अमेरिका र केही पश्चिमा देशका नेताहरूले शफिकुरसँग सम्बन्ध बढाएको र निर्वाचनमा समर्थन गरेको बताइन्छ ।
यद्यपि, जमात–ए–इस्लामीको इतिहास नै यसको ठूलो कमजोरी मानिन्छ । सन् १९७१ मा पाकिस्तानबाट बंगलादेश स्वतन्त्र हुँदा यस पार्टीले त्यसको विरोध गरेको थियो र त्यसबेला पार्टीका नेताहरूले पाकिस्तानी पक्षसँग मिलेर स्वतन्त्रता समर्थकहरूको हत्या गरेको आरोपसमेत लागेको थियो । १९७२ मा शेख मुजीबुर रहमानको शासनकालमा यो पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो, जुन १९७५ मा हटाइएको थियो ।

अहिले पनि यस पार्टीका करिब २ करोड समर्थक र २ लाख ५० हजार संगठित सदस्य रहेको बताइन्छ ।
प्रधानमन्त्री पदको दौडमा नयाँ र सबैभन्दा युवा उम्मेदवार नाहिद इस्लाम हुन् । उनी २०२४ मा शेख हसिनाको सरकारविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनका प्रमुख अनुहारमध्ये एक थिए । आन्दोलनका क्रममा उनी ‘स्टुडेन्ट अगेन्स्ट डिस्क्रिमिनेसन’ नामक विद्यार्थी मञ्चका संयोजक थिए र प्रहरीले उनलाई हिरासतमा समेत लिएको थियो । शेख हसिनाको सत्ता ढलेपछि बनेको मोहम्मद युनुसको सरकारमा उनी केही समय सूचना, डाक तथा दूरसञ्चारमन्त्री बनेका थिए, तर केही महिनामै पद छाडेका थिए ।
गत वर्षको फेब्रुअरीमा उनले नेसनल सिटीजन पार्टी (एनसीपी) गठनको घोषणा गरेका थिए । यो पार्टी विद्यार्थी आन्दोलन, युवा र परम्परागत राजनीतिक प्रणालीप्रति असन्तुष्ट समूहको आवाज बनेको दाबी गर्छ । एनसीपी र शफिकुर रहमानको जमात–ए–इस्लामीबीच चुनावी तालमेल पनि भएको छ ।
निर्वाचनअघि बीएनपीलाई चुनौती दिन जमात नेतृत्वको गठबन्धनमा ११ वटा पार्टी एकसाथ उत्रिएका छन् । इस्लामिक पार्टीहरूले आफ्ना समर्थकको मत एकजुट गर्न ‘वान बक्स पोलिसी’ अन्तर्गत यो गठबन्धन बनाएका हुन् ।
बंगलादेशको ‘जातीय संसद’ मा कुल ३५० सांसद हुन्छन् । तीमध्ये ३०० सिटका लागि प्रत्यक्ष निर्वाचन हुन्छ भने ५० सिट महिलाका लागि आरक्षित छन् । यी आरक्षित सिटमा प्रत्यक्ष मतदान हुँदैन, संसदमा पार्टीले पाउने मतका आधारमा ती सिट बाँडफाँट गरिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update