नेभिगेशन
समाचार

कार्यलय समयमा कर्मचारी क्रिकेट मैदानमा, सेवाग्राही मर्कामा

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा सोमबार दिउँसो अनौठो दृश्य देखियो। कार्यालय समयमा सेवाग्राहीको भीड हुनुपर्ने नगरपालिकाको नवनिर्मित भवनका अधिकांश कार्यकक्ष रित्तै भेटिए। कुर्सी खाली, टेबुलमा फाइल थुप्रिएका, तर ती फाइल पल्टाउने कर्मचारी भने कार्यालयमा थिएनन्।
दिउँसो करिब १२ बजेतिर सेवा लिन आएका सर्वसाधारण कर्मचारीको प्रतीक्षामा अलमलिएका थिए। तर, उनीहरूलाई सेवा दिने कर्मचारीहरू भने मायादेवी गाउँपालिकामा सञ्चालित खेलकुद महोत्सवमा नगरपालिकाको टिमको क्रिकेट खेल हेर्न र खेल्न पुगेका थिए।
खेलका लागि आधिकारिक रूपमा १९ जना कर्मचारीको नाम पठाइएको भए पनि ‘खेल हेर्ने’ बहानामा अन्य कर्मचारीसमेत कार्यकक्ष छाडेर मैदानतर्फ लाग्दा नगरपालिका कार्यालय ‘हनुमानविहीन अयोध्या’ जस्तै बनेको सेवाग्राहीहरूले गुनासो गरे।
सेवा लिन आएका चन्द्रो कोहारले आक्रोश पोख्दै भने,
“जनताको करबाट तलब खाने कर्मचारीहरू कार्यालय समयमा काम छाडेर खेल हेर्न जानु गैरजिम्मेवारीको पराकाष्ठा हो। यहाँ कोही बोल्ने मान्छे छैन, सबै कुर्सी रित्तै छन्। हाम्रो मर्का कसले सुन्ने?”
नगर प्रमुख इस्तियाक अहमद खाँ, प्रमुख प्रशासकीय अधिकृत जनक थापासहित प्रशासन, शिक्षा र प्राविधिक शाखाका उच्च कर्मचारीसमेत कार्यकक्षमा भेटिएनन्। उप–प्रमुख उमा अधिकारीले समेत अनुगमनका क्रममा बालबालिका तथा पञ्जीकरण शाखाबाहेक अन्य शाखामा कर्मचारी नदेखिएको स्वीकार गरिन्।
उनले भनिन्,
“सबै कर्मचारी एकैपटक कार्यक्रममा जानु कमजोरी हो। आगामी दिनमा प्रत्येक शाखामा कम्तीमा एक जना अनिवार्य रहने व्यवस्था मिलाउनुपर्छ।”
यता, प्रमुख प्रशासकीय अधिकृत जनक थापाले भने ‘फोकल पर्सन’ तोकिएको दाबी गर्दै सेवाग्राहीलाई समस्या नभएको जिकिर गरे।
३३० भन्दा बढी कर्मचारी रहेको नगरपालिकामा सामान्य व्यवस्थापनसमेत कमजोर हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको यो घटनाले स्थानीय सरकारको कार्यशैली र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update