नेभिगेशन
समाचार

ऊर्जा उत्पादन बढाएर समृद्ध नेपाल बनाउन सकिन्छ : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समृद्ध नेपाल निर्माणका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्ने बताएका छन् । सप्तरीको राजविराजमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आर्थिक समृद्धिका लागि विद्युत्मा आत्मनिर्भर हुनुका साथै कृषि क्षेत्रको विकास अपरिहार्य रहेको बताए ।

घिसिङले ऊर्जा क्षेत्रमा आफूले अघि सारेका पहल र सुधारहरूले नेपालका लागि कार्यान्वयनयोग्य नमुना प्रस्तुत गरेको दाबी गरे । उनले आफ्नो अनुभवलाई मुलुकको समग्र आर्थिक रूपान्तरणमा उपयोग गर्न सकिने उल्लेख गर्दै आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गरेर विद्युत् निर्यातमार्फत आम्दानी गर्न सकिने बताए ।

‘देश आत्मनिर्भर बन्ने र नेपाली जनताले निःशुल्क रूपमा विद्युत् बाल्न सक्ने अवस्था सिर्जना गर्न सकिन्छ,’ उनले भने, ‘कृषि, खानेपानी, रोजगारी तथा ऊर्जा जस्ता आधारभूत क्षेत्रमा आत्मनिर्भरता हासिल नगरी दिगो विकास सम्भव हुँदैन । यसमा हाम्रो पार्टी स्पष्ट छ ।’

उनले जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको बताउँदै सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update