नेभिगेशन
समाचार

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सम्पन्न, शुक्रबारदेखि उच्च भोल्टेज परीक्षण सुरु हुने

झण्डै छ वर्षअघि सुरु गरिएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत्‌ प्रसारण आयोजना अन्ततः निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । कर्णाली प्रदेशलाई राष्ट्रिय प्रसारण प्रणालीसँग जोड्ने लक्ष्यसहित २२ असार २०७६ मा सुरु गरिएको यो आयोजना विभिन्न अवरोधका कारण निर्धारित समयभन्दा करिब चार वर्ष ढिला सम्पन्न भएको हो ।
सम्झौताअनुसार २३ असार २०७८ भित्र सम्पन्न हुनुपर्ने आयोजनामा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको जग्गा भोगाधिकार, रुख कटान प्रक्रिया तथा स्थानीय अवरोध प्रमुख चुनौती बनेका थिए । ती अवरोध पार गर्दै सुर्खेतको हर्रे खण्डमा तार तान्ने काम सम्पन्न भएपछि आयोजनाले पूर्णता पाएको हो ।


अब वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनामा निर्माण गरिएको सबस्टेसनमा शुक्रबार (१६ माघ) देखि उच्च भोल्टेजसहित परीक्षण प्रसारण गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ । हाल छिन्चु–भेरी नदी खण्डमा जम्पर जडानको काम भइरहेको छ भने कोहलपुरदेखि सुब्बाकुना सबस्टेसनसम्मको ५२ किलोमिटर प्रसारण लाइनमा पेट्रोलिङ गरी रुखका हाँगा–बिँगाले तार छोएको–नछोएको जाँच भइरहेको छ ।
आयोजना प्रमुख रविकुमार चौधरीका अनुसार शुक्रबार कोहलपुर ग्रिडबाट सुर्खेत सबस्टेसनमा विद्युत्‌ प्रवाह गरिनेछ । औपचारिक उद्घाटनअघि प्रसारण लाइनमा पटक–पटक परीक्षण गरिने उनले बताए । दुर्गम भूगोल, बाक्लो हुस्सु तथा मौसमका कारण ड्रोनमार्फत तार तान्ने क्रममा कठिनाइ भए पनि काम सफलतापूर्वक सम्पन्न भएको उनको भनाइ छ ।


राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र थप रुख काट्नुपर्ने अवस्था आएपछि निकुञ्जको नियमअनुसार काटिएका रुख आयोजनाले नै व्यवस्थापन गर्नुपर्ने भएकाले ड्रोन प्रविधि प्रयोग गरिएको थियो । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारका क्रममा करिब १३ हजार रुख काटिएको आयोजनाले जनाएको छ ।
नेपाल सरकार र नेपाल विद्युत्‌ प्राधिकरणको संयुक्त लगानीमा भारतीय निर्माण कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले टावर निर्माण तथा तार तान्ने जिम्मेवारी पाएको थियो । कोहलपुरदेखि वीरेन्द्रनगरसम्म कुल १६२ वटा टावर निर्माण गरिएको छ, जसमा सुब्बाकुनास्थित एक टावर ५० मिटर अग्लो र अन्य टावरहरू करिब ३० मिटर उचाइका छन् ।


स्थानीय अवरोधका कारण बानियाँभार क्षेत्रको राष्ट्रिय वनमा सुरक्षाकर्मी परिचालन गरेर रुख कटान गर्नुपरेको थियो । सर्वोच्च अदालतको आदेशपछि आयोजनाको काम अघि बढ्दै अवरोध हटाइएको थियो । सो क्रममा प्रभावित स्थानीयलाई करिब १६ करोड रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको छ ।
झण्डै चार दशक पुरानो ३३ केभी प्रसारण लाइन विस्थापन गरी उच्च क्षमताको विद्युत्‌ कर्णालीका जिल्लामा पुर्‍याउने उद्देश्यले यो आयोजना अघि बढाइएको हो । नयाँ १३२ केभी प्रसारण लाइन सुर्खेत हुँदै दैलेख, कालीकोट र जुम्लासम्म विस्तार गरिनेछ । हाल सुर्खेतदेखि दैलेखको चुप्रासम्म प्रसारण लाइन र सबस्टेसन निर्माणको काम भइरहेको छ ।
एंगल टावरसहितको नयाँ प्रसारण लाइन सञ्चालनमा आएपछि भोल्टेज समस्या, पटक–पटक लाइन अवरुद्ध हुने समस्या समाधान हुने र विद्युत्‌ आपूर्तिमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ ।


सतर्क रहन आयोजनाको आग्रह
परीक्षण प्रसारण सुरु हुन लागेकाले आयोजनाले प्रसारण लाइन आसपासका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । परीक्षण अवधिमा टावरमा नचढ्न, तार तथा विद्युतीय संरचना नछुन, टावर वरिपरि नजान, गाईवस्तु र बालबालिकालाई समेत टाढा राख्न आयोजनाले अनुरोध गरेको छ ।
परीक्षणका क्रममा कुनै स्थानमा झिल्का देखिएमा वा सम्भावित जोखिम देखिएमा तुरुन्तै जानकारी गराउन समेत आयोजनाले स्थानीयवासीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update