नेभिगेशन
समाचार

आज अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै

‘सतर्कता र प्रतिबद्धता मार्फत समाजको सुरक्षा गर्दै भन्सार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ सोमबार नेपालभर ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस भव्य रूपमा मनाइँदैछ।
विश्व भन्सार संगठन (World Customs Organization) को स्थापना दिवसको स्मरणमा हरेक वर्ष जनवरी २६ मा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइने गरिन्छ। दिवसको अवसरमा भन्सार प्रशासनको भूमिका, व्यापार सहजीकरण र सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउने विषयमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ।
दिवसको पूर्वसन्ध्यामा भन्सार विभागले काठमाडौंमा ४ किलोमिटर लामो विशेष दौड प्रतियोगिता आयोजना गरेको थियो। त्रिपुरेश्वरस्थित भन्सार विभागबाट सुरु भएको दौड थापाथली, माइतीघर, बानेश्वर हुँदै त्रिभुवन विमानस्थल भन्सार कार्यालय पुगेर समापन भएको थियो।
भन्सार विभागमा आयोजित विशेष समारोहमा अर्थमन्त्री तथा भन्सार महानिर्देशकले भन्सार प्रशासनमा प्रविधिको प्रयोग, सुधार र पारदर्शिताका विषयमा मन्तव्य राख्ने कार्यक्रम छ। समारोहमा उत्कृष्ट कार्यसम्पादन गर्ने भन्सार कर्मचारी तथा बढी निर्यात गर्ने उद्यमीहरूलाई सम्मान गरिने विभागले जनाएको छ।
यसैगरी विराटनगर, वीरगञ्ज र भैरहवा लगायतका प्रमुख भन्सार नाकाहरूमा भन्सार एजेन्ट संघको सहकार्यमा रक्तदान कार्यक्रम तथा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको छ।


नेपालले यस वर्षदेखि भन्सार ऐन २०८२ कार्यान्वयनमा ल्याएसँगै भन्सार प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्य लिएको छ। नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत कागजरहित भन्सार प्रणालीलाई थप सुदृढ बनाइएको भन्सार विभागको भनाइ छ। यसले व्यापार सहजीकरण गर्नुका साथै राजस्व चुहावट नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update