नेभिगेशन
समाचार

जेन–जी आन्दोलनका हजारौँ घाइते बेपत्ता सूचीमा, २२७ को मात्रै वर्गीकरण

गत भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण अझै पूरा हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयहरूले समयमै विवरण नपठाउँदा प्रक्रिया ढिलाइ भएको गृह मन्त्रालयले जनाएको छ ।


स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार आन्दोलनका क्रममा कुल २ हजार ५२३ जना घाइते भएका थिए । तर हालसम्म जम्मा २२७ जनाको मात्रै औपचारिक वर्गीकरण भएको छ । बाँकी २ हजार २९६ घाइते कहाँ छन् भन्नेबारे गृह र स्वास्थ्य मन्त्रालय दुवै अनभिज्ञ छन् ।
वर्गीकरणमा नपर्दा घाइतेलाई नै घाटा
गृह मन्त्रालयअन्तर्गत घाइते तथा सहिद राहत तथा उपचार समन्वय समितिका संयोजक सहसचिव निराजन घिमिरेका अनुसार जिल्ला प्रशासनको सम्पर्कमा नआउने र वर्गीकरणमा नपर्ने घाइतेहरूलाई नै प्रत्यक्ष घाटा हुने अवस्था छ ।
उनका अनुसार सामान्य घाइतेलाई तत्काल असर नपरे पनि गम्भीर घाइते र स्थायी अपांगता भएका व्यक्तिहरू उपचार, राहत तथा भत्ताबाट वञ्चित हुन सक्छन् ।


‘गम्भीर रूपमा घाइते र अपांगता भएका व्यक्तिलाई निर्वाह भत्ता दिने तयारी सरकारको छ । तर परिचयपत्र नलिने र वर्गीकरणमा नपर्नेहरूलाई सरकारले घाइतेका रूपमा चिन्दैन,’ उनले भने, ‘त्यसैले सबै घाइतेलाई सम्पर्कमा आउन आग्रह गरेका छौँ ।’
कतिपय घाइतेको हकमा अस्पताल भर्ना र उपचारसम्बन्धी रिपोर्ट संकलन गर्नसमेत कठिन भइरहेको समितिले जनाएको छ । वर्गीकरणपछि कृत्रिम अंग जडान, प्लास्टिक सर्जरीजस्ता दीर्घकालीन उपचार आवश्यक पर्ने अवस्थासमेत पहिचान हुने बताइएको छ ।


परिचयपत्र लिन आउनेको संख्या पनि न्यून
समितिका अनुसार हालसम्म ७३७ जनाले मात्रै घाइते परिचयपत्र लिएका छन् । आन्दोलनमा घाइते हुनेको संख्या ठूलो भए पनि बाँकी घाइतेबारे गृह र स्वास्थ्य मन्त्रालय दुवैसँग यकिन विवरण छैन ।
स्वास्थ्य मन्त्रालयले सामान्य घाइतेहरू उपचारपछि घर फर्किएकाले सम्पर्कमा नआएको हुन सक्ने अनुमान गरेको छ । तर परिचयपत्र नलिँदा सरकारी उपचार सेवा र अन्य सुविधा प्राप्त गर्न समस्या हुने मन्त्रालयको भनाइ छ ।


मन्त्रालयहरूको भनाइ
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सम्पर्कमा आएका घाइतेहरूको वर्गीकरण भइसकेको जानकारी दिँदै भने,
‘जो–जो घाइते सम्पर्कमा आउनुभएको छ, उहाँहरूको वर्गीकरण भएको छ । नआउनेको भएको छैन । कतिपय उपचारपछि घर फर्किएर सम्पर्कमा नआएको हुन सक्छ । तर प्रशासनले पनि घाइतेहरू खोज्नुपर्छ ।’
यस्तै, स्वास्थ्य मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्माले घाइतेको वर्गीकरण केवल मन्त्रालयले मात्र गर्न नसक्ने स्पष्ट पारे ।


‘सम्बन्धित जिल्लाबाट वर्गीकरणका लागि सूची नै आएको छैन । समितिमा जेन–जी आन्दोलनका प्रतिनिधि पनि हुनुहुन्छ । जो घाइते हुनुहुन्छ, उहाँहरू स्वयं पनि सम्पर्कमा आउनुपर्‍यो,’ उनले भने ।
सरकारले घाइतेको यकिन तथ्यांक संकलन र वर्गीकरण नगर्दा जेन–जी आन्दोलनका हजारौँ घाइते राहत, उपचार र भत्ताबाट वञ्चित हुने जोखिम बढ्दै गएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update