नेभिगेशन
समाचार

फागुन २१ को निर्वाचनका लागि २ लाख १३ हजारभन्दा बढी कर्मचारी परिचालन

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई लाख १३ हजार पाँच सय कर्मचारी परिचालन गर्ने भएको छ। निजामती कर्मचारी, विभिन्न संघ–संस्थाका कर्मचारी तथा स्वयंसेवकलाई समेटेर यति ठूलो संख्यामा जनशक्ति परिचालन गर्न लागिएको आयोगले जनाएको छ। यसमा सुरक्षाकर्मीको संख्या भने समावेश गरिएको छैन।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार पाँच सयसम्म मतदाता रहेका मतदान केन्द्रमा प्रतिकेन्द्र आठ जना र पाँच सयदेखि एक हजारसम्म मतदाता रहेका केन्द्रमा प्रतिकेन्द्र नौ जना कर्मचारी खटाइनेछ। आवश्यकता परे मतदान अधिकृतले तत्काल स्वयंसेवक कर्मचारी भर्ना गर्न सक्ने अधिकार पनि दिइएको छ। ती स्वयंसेवकले निर्वाचनमा खटिने अन्य निजामती कर्मचारीसरह भत्ता तथा सुविधा पाउने व्यवस्था गरिएको छ।
विभिन्न राजनीतिक दलसँग निकट कर्मचारी संघ–संगठनका पदाधिकारी तथा सदस्यलाई भने आयोगले निर्वाचनमा खटाउने छैन। यस्तै, आकस्मिक आवश्यकता परे तत्काल खटाउन सकिने गरी केही कर्मचारीलाई रिजर्भमा राखिनेछ। निर्वाचनमा खटिने सम्पूर्ण कर्मचारीलाई आवश्यक तालिम दिएपछि मात्रै फिल्डमा परिचालन गरिने आयोगले जनाएको छ।
यसैबीच, निर्वाचन आयोगले शनिबार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगका अनुसार कुल मतदाताको संख्या एक करोड ८९ लाख तीन हजार ६ सय ८९ पुगेको छ। यसमध्ये ९६ लाख ६३ हजार तीन सय ५८ पुरुष, ९२ लाख ४० हजार एक सय ३१ महिला तथा अन्य दुई जना मतदाता रहेका छन्।
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक कुल मतदाता संख्या नौ लाख १५ हजार एक सय १९ ले वृद्धि भएको छ। पुरुष मतदाता पाँच लाख २२ हजार पाँच सय ५२, महिला मतदाता तीन लाख ९२ हजार पाँच सय ५२ र अन्य मतदाता १५ ले बढेका छन्।


आयोगका अनुसार देशभर १० हजार नौ सय ६७ मतदान स्थलमा २३ हजार एक सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ। यो संख्या २०७९ सालको निर्वाचनभन्दा ७५ मतदान स्थल र आठ सय ८५ मतदान केन्द्रले बढी हो।
आगामी निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा एक सय १४ वटा राजनीतिक दल दर्ता भएका छन्। आयोगले ती सबै दलको दर्ता निवेदन स्वीकृत गरिसकेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update