नेभिगेशन
समाचार

कांग्रेस लास र दासहरूको पार्टी होइन, यहाँ कोही ‘बा’ छैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रस्तावित ‘विशेष महाधिवेशन’ नामले मात्र होइन, निर्णय र परिणामका हिसाबले पनि विशेष हुने बताएका छन्। उनले यो महाधिवेशनबाट निस्कने निष्कर्षलाई आफूहरू सबैले स्वीकार गर्नुपर्ने स्पष्ट पारे।


महाधिवेशन कहाँ गएर टुंगिन्छ भन्ने विषयमा अहिले नै निश्चित नभएको उल्लेख गर्दै थापाले विशेष महाधिवेशन केन्द्रीय समितिको इच्छाले नभई पार्टीभित्रबाट उठेको मागका कारण हुन लागेको बताए। नीति र नेतृत्व दुवै परिवर्तनको अपेक्षासहित तल्लो तहबाट विशेष महाधिवेशनको माग आएको उनको भनाइ थियो।
“यो महाधिवेशन कहाँ पुगेर टुंगिन्छ, मलाई पनि थाहा छैन। केन्द्रीय समितिले मन लागेर आयोजना गरेको होइन, तलबाट माग आएको हो,” थापाले भने, “म पनि बोलाएर मात्रै आएको हुँ। महाधिवेशनको हलले जे निर्णय गर्छ, त्यसलाई हामीले स्वीकार गर्नुपर्छ। जहाँ लगेर टुंग्याउनु हुन्छ, हामी मान्छौँ।”


महामन्त्री थापाले कांग्रेस कुनै व्यक्तिको आदेशमा चल्ने पार्टी नभएको स्पष्ट पार्दै पार्टीभित्र खुला बहस र प्रश्न गर्ने संस्कार रहेको बताए। उनले कांग्रेसलाई ‘लास र दासहरूको पार्टी’ भन्ने आरोप अस्वीकार गर्दै पार्टी जिउँदो कार्यकर्ता र चेतनाले बनेको संगठन भएको उल्लेख गरे।
“कांग्रेस दास र लासहरूको पार्टी होइन, यो जिउँदोहरूको पार्टी हो,” उनले भने, “यहाँ कोही ‘बा’ छैन, जसले नबोल भन्दा नबोल्ने। यहाँ प्रश्न छन्, बहस छन्। जसले प्रश्न गर्न सक्दैन, उसले जवाफ पनि दिन सक्दैन।”
थापाको भनाइले विशेष महाधिवेशनमार्फत कांग्रेसमा गहिरो बहस र सम्भावित परिवर्तनको संकेत गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update