नेभिगेशन
समाचार

कक्षा १२ परीक्षा फारममा खुला लुट ! कुशे–९ पैकको जनता माविमा २८०० असुली

जाजरकोट । जाजरकोट जिल्ला कुशे गाउपालिका ९ मा रहेको श्री जनता माध्यामिक बिधालयले कक्षा १२ का विद्यार्थीहरूलाई परीक्षा फारमको नाममा खुला आर्थिक शोषण गरिएको तथ्य सार्वजनिक भएको छ। कुशे गाउँपालिका–९ पैकमा रहेको जनता माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्ड (NEB) को निर्देशनलाई ठाडै उल्लंघन गर्दै २८०० रुपैयाँ दस्तुर शुल्क असुलेको पाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको आधिकारिक सूचनाअनुसार कक्षा १२ को परीक्षा फारम शुल्क सिङ्गल दस्तुर ८०० रुपैयाँ र डबल दस्तुर १६०० रुपैयाँ मात्र तोकिएको छ। तर उक्त निर्णयलाई कागजमै सीमित पार्दै जनता माध्यामिक बिधालय ले मनपरी दर तोकेर विद्यार्थी तथा अभिभावकबाट दोब्बरभन्दा बढी रकम असुलेको छ ।

पीडित विद्यार्थीका अनुसार, “परीक्षा फारम नभरिदिने, नाम काटिने जस्ता डर देखाएर पैसा बुझाउन बाध्य पारियो।” आर्थिक अवस्था कमजोर भएका ग्रामीण अभिभावकहरू ऋण खोजेर रकम बुझाउनुपर्ने अवस्था सिर्जना भएको उनीहरूको गुनासो छ ।

शिक्षा जस्तो पवित्र क्षेत्रमै यस्तो लुटतन्त्र मौलाउनु गम्भीर विषय भएको भन्दै स्थानीय सरोकारवालाहरूले कडा आपत्ति जनाएका छन्। तर विद्यालय प्रशासन भने यस विषयमा मौन देखिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update