नेभिगेशन
समाचार

कर्णाली याक्सको सेवा विस्तार: सुर्खेत–काठमाडौँ–काँकडभिट्टा रुटमा ५ वटा ‘इयर सस्पेन्स’ बस सञ्चालन

कर्णाली प्रदेशको यातायात क्षेत्रमा नयाँ आयाम थप्दै कर्णाली याक्स नामक ब्रान्डमा सुर्खेतदेखि काठमाडौँ हुँदै काँकडभिट्टासम्म सञ्चालन हुने ५ वटा अत्याधुनिक इयर सस्पेन्स बस आजदेखि नियमित सेवामा आएका छन्।

यी बसहरू सुर्खेत काक्रेविहार यातायात प्रा. लि. को स्वामित्वमा सञ्चालनमा ल्याइएको हो। यात्रुको सहजता, आरामदायी यात्रा र सुरक्षित सेवालाई प्राथमिकतामा राख्दै कम्पनीले लामो दूरीको यात्रालाई अझ सहज बनाउने लक्ष्य लिएको छ।

कम्पनीका अध्यक्ष रमेश कुमार सापकोटाको स्वामित्वमा रहेका ५ वटा इयर सस्पेन्स बसमध्ये एक बस अध्यक्ष सापकोटाकै लगानीमा खरिद गरिएको हो। करिब १ करोड १४ लाख रुपैयाँ मूल्य पर्ने सो बस अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको छ।

संघर्षबाट सफलतासम्मको यात्रा

अध्यक्ष रमेश कुमार सापकोटाको जीवनकथा आफैंमा प्रेरणादायी छ। एसएलसी परीक्षा दिएर नतिजाको प्रतीक्षामा रहँदा उनी आफ्ना ठूला बुबाको गाडीमा काम गर्थे। गाडीमा काम गर्दै जाँदा यातायात क्षेत्रमा रुचि बढ्दै गयो र बसप्रतिको मोह नशासरह जीवनमा बस्यो।

इन्टरमिडिएट पढ्दापढ्दै उनले पढाइ छाडेर पूर्ण रूपमा यातायात क्षेत्रमा होमिनु भयो। सुरुका दिनहरूमा अरूको गाडी चलाएर जीवन गुजारा गर्नुभयो। थप अनुभव र आर्थिक जोहोका लागि २०६० सालमा कतार पुगेर श्रम गर्नुभयो।

२०६६ सालमा नेपाल फर्किएपछि उनले ३८२२ नम्बरको डिलक्स बस खरिद गरी पहिलोपटक बस मालिक बन्ने सपना साकार पार्नुभयो। त्यसयता बस किनबेच, व्यवस्थापन र सेवामा निरन्तर लागिरहँदा आज उनी आधुनिक सुविधा सम्पन्न इयर सस्पेन्स बस खरिद गर्ने हैसियतमा पुग्न सफल भएका छन्।

हाल अध्यक्ष सापकोटासँग ४ वटा बसहरू छन्, जसले नियमित रूपमा यात्रु सेवा दिइरहेका छन्।

यात्रु सेवामा नयाँ विश्वास

कर्णाली याक्स अन्तर्गत सञ्चालनमा आएका नयाँ बसहरूले कर्णाली र पूर्वी नेपालसम्मको यात्रालाई सहज, सुरक्षित र आरामदायी बनाउने अपेक्षा गरिएको छ। यसले स्थानीय रोजगार, यातायात व्यवसायको स्तरोन्नति र कर्णालीको पहुँच विस्तारमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।

संघर्ष, मेहनत र निरन्तरताले सफलता सम्भव हुन्छ भन्ने उदाहरण बनेका रमेश कुमार सापकोटाजस्ता व्यवसायीहरूले युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update