नेभिगेशन
समाचार

जाजरकोटमा कडा बजार अनुगमन: ८५ हजारभन्दा बढीका म्याद गुज्रिएका खाद्य सामग्री नष्ट

जाजरकोट । सदरमुकाम खलंगामा उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि कडा बजार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको आयोजनामा सञ्चालन गरिएको संयुक्त अनुगमनका क्रममा ८५ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरका म्याद सकिएका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ ।

अनुगमन टोलीले खलंगा बजारका होटेल, किराना पसल तथा खाद्य सामग्री बिक्री केन्द्रहरूमा निरीक्षण गरेको थियो । अनुगमनका क्रममा म्याद गुज्रिएका बिस्कुट, पेय पदार्थ, मसला, चाउचाउ लगायतका सामग्री फेला परेपछि तत्काल जफत गरी नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख सन्तोष दाहालले जानकारी दिए ।

संयुक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय जाजरकोट, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, भेरी नगरपालिका, उद्योग वाणिज्य संघ जाजरकोट, उपभोक्ता अधिकार मञ्च, नेपाल पत्रकार महासंघ जाजरकोट लगायतको सक्रिय सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा होटेल तथा खाद्य पसलहरूको सरसफाइ अवस्था, खाद्यान्नमा मिसावट, भान्साको स्वच्छता, दर्ता तथा नवीकरण, मूल्यसूची, म्याद उल्लेख जस्ता विषयमा विशेष ध्यान दिइएको थियो । केही व्यवसायीलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ भने नियम उल्लङ्घन गर्नेहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्नेलाई कुनै पनि हालतमा छुट नदिइने चेतावनी दिँदै आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

स्थानीय उपभोक्ताहरूले बजार अनुगमनलाई स्वागत गर्दै नियमित अनुगमन नहुँदा उपभोक्ता ठगिने अवस्था बढेको भन्दै यस्ता कडा कदमले बजारलाई अनुशासित बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update