नेभिगेशन
समाचार

जाजरकोटमा कडा बजार अनुगमन: ८५ हजारभन्दा बढीका म्याद गुज्रिएका खाद्य सामग्री नष्ट

जाजरकोट । सदरमुकाम खलंगामा उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि कडा बजार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको आयोजनामा सञ्चालन गरिएको संयुक्त अनुगमनका क्रममा ८५ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरका म्याद सकिएका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ ।

अनुगमन टोलीले खलंगा बजारका होटेल, किराना पसल तथा खाद्य सामग्री बिक्री केन्द्रहरूमा निरीक्षण गरेको थियो । अनुगमनका क्रममा म्याद गुज्रिएका बिस्कुट, पेय पदार्थ, मसला, चाउचाउ लगायतका सामग्री फेला परेपछि तत्काल जफत गरी नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख सन्तोष दाहालले जानकारी दिए ।

संयुक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय जाजरकोट, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, भेरी नगरपालिका, उद्योग वाणिज्य संघ जाजरकोट, उपभोक्ता अधिकार मञ्च, नेपाल पत्रकार महासंघ जाजरकोट लगायतको सक्रिय सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा होटेल तथा खाद्य पसलहरूको सरसफाइ अवस्था, खाद्यान्नमा मिसावट, भान्साको स्वच्छता, दर्ता तथा नवीकरण, मूल्यसूची, म्याद उल्लेख जस्ता विषयमा विशेष ध्यान दिइएको थियो । केही व्यवसायीलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ भने नियम उल्लङ्घन गर्नेहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्नेलाई कुनै पनि हालतमा छुट नदिइने चेतावनी दिँदै आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

स्थानीय उपभोक्ताहरूले बजार अनुगमनलाई स्वागत गर्दै नियमित अनुगमन नहुँदा उपभोक्ता ठगिने अवस्था बढेको भन्दै यस्ता कडा कदमले बजारलाई अनुशासित बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update