नेभिगेशन
समाचार

जाजरकोटको ऐतिहासिक झादेब मेला पुस १७ देखि १९ गतेसम्म, धार्मिक आस्था र लोकसंस्कृतिको भव्य संगम

जाजरकोट जिल्लाको कुशे गाउँपालिका–५, ढिमेमा परापूर्वकालदेखि प्रत्येक पाँच वर्षमा लाग्दै आएको ऐतिहासिक तथा धार्मिक झादेब मेला यस वर्ष पनि आयोजना हुने भएको छ। झादेब देवताको नामबाट परिचित यो मेला पुस १७ गतेदेखि पुस १९गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।

स्थानीय जनविश्वासअनुसार झादेब देवताको इतिहास परापूर्वकालसम्म फैलिएको छ। बुढापाकाहरूको कथनअनुसार विगतमा यस मेलामा मानव बलिसम्म दिइने प्रचलन रहेको भन्ने भनाइ सुनिँदै आएको पाइन्छ। समयक्रमसँगै सामाजिक चेतना र परम्परामा सुधार हुँदै हाल भने साँढे र भेडा बलि दिने चलन मात्र कायम रहेको छ।

परम्परागत विधिअनुसार साँढेलाई जीवितै हिँडाइ छातीमा खुकुरी प्रहार गरी मुटु निकालेर झादेब देवतालाई चढाउने धार्मिक विधि रहेको छ। साथै, एक वटा साँढे छोड्ने चलन पनि यस मेलाको महत्वपूर्ण विशेषता मानिन्छ।

धार्मिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनको लक्ष्य

मेलाको मुख्य उद्देश्य झादेब देवताप्रतिको आस्था कायम राख्नुका साथै यस क्षेत्रको धार्मिक, ऐतिहासिक र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रचार–प्रसार गर्नु रहेको आयोजक समितिले जनाएको छ। साथै मेलामार्फत स्थानीय संस्कृति, पर्यटन, उत्पादन र बजारिकरणलाई समेत प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

खेलकुद र सांस्कृतिक कार्यक्रमले थप आकर्षण

मेलाको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने छन्। जसअन्तर्गतः

खुला पुरुष भलिबल प्रतियोगिता

खुला महिला भलिबल प्रतियोगिता

नृत्य प्रतियोगिता

अन्य स्थानीय सांस्कृतिक प्रस्तुतीहरू

विशेषगरी भलिबल प्रतियोगितालाई आकर्षक बनाउँदै विजेता टोलीलाई नगद रु. १ लाख १५ हजार पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ।

लोकसंस्कृतिको जीवन्त प्रस्तुति

मेलामा खाडो नाच, पञ्चेबाजा, मयुर नाच, ठाडी भाका, देउडा गीत, पैसैरु नाच, सिङ्गारु नाच, ख्याली नाच तथा खुकुरी नाच लगायतका परम्परागत लोकसंस्कृतिहरू प्रस्तुत गरिने छन्। यी कार्यक्रमहरूले मेलालाई अझ जीवन्त र आकर्षक बनाउने अपेक्षा गरिएको छ।

अध्यक्ष टेक राज मल्लद्वारा उपस्थितिको आग्रह

मेलाका अध्यक्ष टेक राज मल्लले झादेब मेला धार्मिक आस्था, सांस्कृतिक गौरव र सामाजिक एकताको प्रतीक भएको उल्लेख गर्दै कुशे गाउँपालिका, जाजरकोट जिल्ला मात्र नभई देश–विदेशमा रहेका सम्पूर्ण श्रद्धालु, कला–संस्कृति प्रेमी, खेलप्रेमी युवा तथा आम नागरिकहरूलाई ऐतिहासिक झादेब मेलामा उपस्थित भई मेलालाई सफल बनाउन हार्दिक निमन्त्रणा गर्नुभएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update