नेभिगेशन
समाचार

रोकायजाँतमा आधा गाउँमा बत्ती, आधा गाउँ अझै अन्धकारमै

शिवालय गाउँपालिका–६, रोकायजाँत (जाजरकोट) — नेपाल विद्युत प्राधिकरणले करिब सात–आठ महिना अघि वडाका बासिन्दालाई विद्युत् मीटर बक्स वितरण गरे पनि अहिले सम्म सम्पूर्ण क्षेत्रमा बत्ती पुग्न नसक्दा आधा गाउँमा मात्र बत्ती बलिरहेको र बाँकी आधा गाउँ अझै अन्धकारमै रहेको छ।

स्थानीय बासिन्दाहरूका अनुसार, केही भागमा पोल जडान भई विद्युत् सेवा सुरु भएको छ, तर रोकायजाँतको माथिल्लो भागमा पोल नै नआएकाले मीटर बक्स थन्किएका छन्।

विद्युत् लाइन जडान नभएपछि ती क्षेत्रका बासिन्दा लामो समयदेखि बत्तीको प्रतीक्षामा छन्।

स्थानीय टेकेन्द्र रोकायले भने, “हाम्रो गाउँको आधा भागमा त अहिले बत्ती बलिरहेको छ, तर हामीकहाँ खम्बा नै नआएकाले अन्धकारमा बस्नुपरेको छ। सबै काममा कठिनाइ भइरहेको छ।”

वडामा वितरण गरिएका मीटर बक्स धुलोमा थन्किएको महीनौँ भइसकेको छ। सम्बन्धित वितरण केन्द्र र वडा कार्यालयमा पटक–पटक जानकारी गराए पनि ठोस पहल भएको छैन भन्ने स्थानीयहरूको गुनासो छ।

बत्ती नहुँदा विद्यालयका विद्यार्थीहरू पढ्न, महिलाहरूले साँझपख घरायसी काम गर्न र वृद्धहरूलाई आवतजावत गर्न समेत कठिनाइ भएको जनाइएको छ।

स्थानीयहरूले विद्युत प्राधिकरण र वडा कार्यालयसँग शीघ्र समन्वय गरी बाँकी गाउँमा पनि पोल जडान गरी सम्पूर्ण क्षेत्रमा बत्तीको सुविधा उपलब्ध गराउन माग गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update