नेभिगेशन
समाचार

सुनकोशीको बाढीले फोक्सिन्टार पुल बगाएपछि घिर्नीको सहारामा सामान ओसारपसार

सुनकोशीको बाढीले खोटाङ र उदयपुर जोड्ने फोक्सिन्टारको मोटरेबल पुल बगाएपछि दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री ओसारपसार गर्न घिर्नी जडान गरिएको छ। हालसम्म कुनै वैकल्पिक स्थायी संरचना नबनेपछि स्थानीय बासिन्दा तथा निर्माण कम्पनीले जोखिम मोलेर सामान तारिरहेका छन्।

गत वर्षको असोज १२ गते आएको बाढीले फोक्सिन्टारस्थित १२० मिटर लामो ‘आर्क’ डिजाइनको पक्की पुल बगाएको थियो। त्यसपछि तत्कालीन राहतस्वरूप पुस २७ गते बेलिब्रिज जडान गरिएको थियो। तर, नदीमा पानीको बहाव उच्च भएपछि जेठ ५ गते बेलिब्रिज पनि हटाउनु पर्‍यो, जसका कारण गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तर्गतको मुख्य सडक खण्डमा सिधा यातायात सम्पर्क पूर्णरूपमा विच्छेद भयो।

सडक अवरुद्ध भएपछि खोटाङ र उदयपुरको सिमानामा रहेको सुनकोशी नदीमा निर्माण सामग्री ओसार्न घिर्नी जडान गरिएको हो। निर्माण व्यवसायी महेश रेग्मीका अनुसार रसुवा–पानधारे सडक अन्तर्गतको १५ किलोमिटर कालोपत्रे कार्यका लागि आवश्यक सामान ल्याउन घिर्नी प्रयोग थालिएको हो। आवश्यक परेमा दैनिक उपभोग्य वस्तु पनि यही माध्यमबाट ओसारिने उनले जानकारी दिए।

साउन ८ गते घिर्नीको परीक्षण सफल भएपछि प्राविधिक टोलीले सञ्चालनको तालिम दिइरहेको छ। रेग्मीका अनुसार केही दिनभित्र घिर्नी पूर्णरूपमा सञ्चालनमा आउनेछ। हिउँदमा मात्र बेलिब्रिज जडान सम्भव हुने भएकाले बर्खामा घिर्नी नै एकमात्र विकल्प बनेको छ।

दिक्तेल–गाईघाट सडक खण्डको वैकल्पिक मार्गका रूपमा घुर्मी–कटारी हुँदै सवारीसाधन आवतजावत गरिए पनि बाटो लामो र कठिन भएकाले विशेषगरी निर्माण सामग्री ढुवानीमा समस्या भइरहेको छ। अर्कोतर्फ, खानीडाँडा–रेग्मीटार हुँदै फोक्सिन्टार जाने छोटो वैकल्पिक सडक समेत वर्षाले भत्किएर बन्द भएको छ।

फोक्सिन्टार पुल निर्माणको जिम्मा लिएको गौरीपार्वती वाइपी जेभी निर्माण कम्पनीले काम ढिला गर्दा १२ वर्ष कुर्नुपरेको थियो। तर, सञ्चालनमा आएको दुई वर्ष नबित्दै पुल बगाएपछि पुनः अस्थायी संरचनाको भर पर्नुपर्ने अवस्था आएको हो। संघीय सरकारले फोक्सिन्टारमा नयाँ पुल निर्माणका लागि ३५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको भए पनि हालसम्म ठेक्का प्रक्रिया सुरु हुन सकेको छैन।

दिक्तेल–फोक्सिन्टार–गाईघाट सडक खण्ड सिधा दूरीमा पूर्वी तराई जोड्ने महत्त्वपूर्ण राजमार्ग हो। तर बाढी र कमजोर पूर्वाधारका कारण बर्खायाममा यातायात ठप्प हुँदा स्थानीयबासी तथा निर्माण कार्य दुबै प्रभावित भएका छन्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update