बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासीको दाउन्ने खण्ड एक वर्षको अवधिमा ६३ पटक अवरुद्ध भएको छ। विनयी त्रिवेणी गाउँपालिका–२ स्थित १४ किलोमिटरको यो पहाडी क्षेत्र लगातार पहिरो, माटोको ढिस्को, बिग्रिएका सवारीसाधन र निर्माण कार्यका कारण बारम्बार बन्द हुँदै आएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जनक बन्जाराका अनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म विभिन्न कारणले सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध रह्यो। "वर्षा हुँदा पहिरो र हिलोले, घाम लागेपछि धुलो र खाल्डाखुल्डीले समस्या निम्त्याउँछ," उनले भने।
सडक विस्तारका लागि दाउन्नेमा भित्तो कटान सुरु गरेपछि समस्या झन चर्किएको हो। सवारी आवागमनमा थप अवरोध गत पुस २६ गते विनयी खोला पुल भाँचिएपछि देखिएको थियो। सो क्रममा बनाइएको अस्थायी डाइभर्सन समेत पटकपटक बगाउँदा स्थानीयवासी र यात्रुहरू हैरान भएका थिए। गत असार १९ गतेदेखि नयाँ पुल सञ्चालनमा आएपछि भने सो समस्या केही घटेको छ।
दाउन्ने खण्डमा अहिले पर्खाल निर्माण, कल्भर्ट तथा ढलानको काम भइरहेका छन्। पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार कामलाई तीव्रता दिइएको छ। ११४ किलोमिटर लम्बाइको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर क्षेत्रमा विस्तार भइरहेको छ। बजार क्षेत्रमा सर्भिस लेनसहित ६ लेन र जोखिमपूर्ण दाउन्ने क्षेत्रमा ३ लेनको सडक निर्माणाधीन छ।
चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले १७ अर्ब लागतमा जिम्मा लिएको यस आयोजनामा हालसम्म तीनपटक म्याद थप भइसकेको छ। पछिल्लो म्याद अनुसार साउन मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्य छ।
लगातारको अवरोध, निर्माणको ढिलाइ र दाउन्नेको जोखिमपूर्ण भौगोलिक अवस्थाका कारण यो सडक खण्ड यात्रु, व्यापारी र स्थानीयका लागि सधैँजसो समस्याको स्रोत बनेको छ। स्थानीयवासी तथा सरोकारवालाहरूले समयमै निर्माण कार्य सम्पन्न गर्न सरकार र निर्माण कम्पनीलाई आग्रह गरेका छन्।