बर्दिया, – बाँसगढी नगरपालिका वडा नं. ८ मा अवस्थित रेशमपुर गाउँले स्वच्छता, स्वास्थ्य र समृद्धिको नयाँ उचाइ हासिल गर्दै पूर्ण स्वस्थकर व्यवहार उन्मुख गाउँ घोषणा भएको छ।

यो गाउँ, जुन साविक डेउवाकला ७ मा पर्दथ्यो, पूर्व–पश्चिम राजमार्गको दक्षिणमा रहेको सुन्दर, शान्त र मनोरम बस्ती हो। मिति २०५० सालमा कन्द्रा बस्तीबाट आएका बासिन्दाले बसोबास सुरु गरेको यो गाउँ २०५९ सालमा सुकुम्बासी आयोगमार्फत कित्ताकाट भएको थियो। स्व. रेशम चौधरीको योगदानमा स्थापित र नामाकरण गरिएको यो गाउँले आज आफ्नो पहिचानलाई नयाँ उचाइमा पुर्याएको छ।

गाउँको परिचय र सामुदायिक एकता
रेशमपुर गाउँमा १३५ घरधुरीमा कुल ७११ जनसंख्या रहेको छ, जसमा १६६ महिला र १४५ पुरुष छन्। यहाँ थारु समुदायको बहुल्यता रहे पनि मुस्लिम, दलित, क्षेत्री र ब्राह्मण समुदायको मिश्रित बसोबासले यो गाउँलाई एकताको सुन्दर उदाहरण बनाएको छ। यहाँका १११ जनजाति, ७ मुस्लिम, ९ दलित र ८ ब्राह्मण/क्षेत्री घरधुरीले सामुदायिक विकासमा एकजुट भएर काम गर्दछन्। गाउँको मुख्य पेशा कृषि भए पनि वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या पनि उल्लेख्य छ। परम्परागत कला, संस्कृति र सिपलाई आधुनिकतासँग जोड्दै यहाँका बासिन्दाले सामुदायिक विकासमा उल्लेखनीय योगदान पुर्याएका छन्।

स्वच्छता र विकासका संरचनाहरू
रेशमपुर गाउँले सामुदायिक भौतिक संरचनाहरू जस्तै धनुवा, सामुदायिक भवन, शौचालय, ताल र धारामार्फत आफ्नो छुट्टै पहिचान बनाएको छ। परम्परागत ढाँचाका स–साना घरहरू, लोपोन्मुख सखिया नाच र थारु मघौटा नाचको संरक्षणले यहाँको सांस्कृतिक धरोहर जीवन्त छ। गाउँले ९० प्रतिशत श्रमदानमार्फत बाटोघाटो, पुलपुलेसा, करेसाबारी र खेतीपातीमा व्यवस्थित र सुधारात्मक कार्य गर्दै आएको छ। विभिन्न सरकारी र गैरसरकारी संस्थाहरूको सहयोगमा स्वास्थ्य र सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्, जसले गाउँलाई पूर्ण स्वस्थकर व्यवहार उन्मुख बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
पूर्ण स्वस्थकर व्यवहार उन्मुख गाउँ घोषणा समारोह
ऐतिहासिक दिनमा बाँसगढी नगरपालिकाका मेयर खडक बहादुर खड्काको प्रमुख आतिथ्यमा र उपमेयर इन्दिरा चौधरीको विशिष्ट आतिथ्यमा रेशमपुर गाउँ पूर्ण स्वस्थकर व्यवहार उन्मुख गाउँ घोषणा भएको छ। कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष तुल प्रसाद गौतम, वडा नं. ७ का वडा अध्यक्ष बलिराम चौधरी, वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर शाही, स्वास्थ्यकर्मी, स्थानीय बुद्धिजीवी, समाजसेवी र बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो। थारु सांस्कृतिक र्यालीले कार्यक्रममा रौनक थपेको थियो। मेयर, उपमेयर र वडा अध्यक्षले सम्बोधन गर्दै गाउँको सामुदायिक एकता र स्वच्छताप्रतिको प्रतिबद्धताको प्रशंसा गरे।