नेभिगेशन
समाचार

विद्यालयको गेटमै प्रधानाध्यापकको मदिरा पसल!

शिक्षालयलाई अनुशासन, नैतिकता र भविष्य निर्माणको केन्द्र मानिन्छ। तर रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–८ मा रहेको हिमालय माध्यमिक विद्यालयमा भने यही शिक्षालयका प्रधानाध्यापक स्वयंले विद्यालयको मूलगेटमै मदिरा र सुर्तीजन्य पदार्थ बिक्री गरिरहेका भेटिएको खबरले समाजमा गम्भीर प्रश्न उठाएको छ।

नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीको नेतृत्वमा गएको अनुगमन टोलीले विद्यालय गेटदेखि करिब तीन मिटर दूरीमा रहेको विवेक स्टेसनरी तथा किराना पसलबाट बियर, चुरोट, सुर्तीलगायतका मादकपदार्थहरू खुलेआम बिक्री भइरहेको फेला पारेको हो। अझ गम्भीर कुरा त के भने, यो पसल विद्यालयकै प्रधानाध्यापक नवराज बुढाको नाममा रहेको छ।

उपप्रमुख शाहीका अनुसार, शिक्षालयजस्तो पवित्र स्थलको छेउमै सार्वजनिक पदमा बसेका एक जिम्मेवार व्यक्तिले यस्तो गैरकानुनी कारोबार गर्नु अत्यन्त निन्दनीय र दण्डनीय कार्य हो। विद्यालय क्षेत्रभित्र मदिरा र सुर्तीजन्य पदार्थ बिक्री निषेधित भएको स्पष्ट हुँदाहुँदै नियम विपरीत कारोबार गरेको पुष्टि भएपछि पसललाई रु. १०,००० जरिवाना गरिएको बताइएको छ।

यसबारे प्रधानाध्यापक बुढाले भने आफूमाथि षड्यन्त्रपूर्वक आरोप लगाइएको दाबी गरेका छन्। “म आफैंले रक्सी बेचेको होइन,” उनले भने, “परिवारको वैवाहिक कार्यक्रममा ल्याइएको र बाँकी रहेको रक्सी घरमै राखिएको थियो। त्यही बोतल देखाएर मलाई फसाउने प्रयास भइरहेको छ।” उनले थपे, “स्टेसनरी र किराना पसल परिवारका सदस्यले चलाउँछन्, तर मदिरा बिक्री गरिएको छैन।”

तर स्थानीयवासी र अभिभावकहरू भने विद्यालयको वातावरण नै दूषित हुने खतराबाट चिन्तित छन्। “शिक्षकले नै यस्तो काम गरेपछि विद्यार्थीलाई के शिक्षा दिन सकिन्छ र?” एक अभिभावकले आक्रोश पोखे।

विद्यालय परिसरलाई नशालु पदार्थबाट मुक्त राख्नुपर्ने राष्ट्रिय नीतिको अवहेलना गर्दै शिक्षालयकै शिर मानीने व्यक्तिबाट यस्ता कार्य हुनुले शिक्षा क्षेत्रमा नैतिकताप्रति गम्भीर प्रश्न खडा गरेको छ। अब जिम्मेवार निकायले उचित कारबाही गर्छ वा मौन बस्छ — त्यो हेर्न बाँकी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update