नेभिगेशन
समाचार

कार्यान्वयनमा शङ्का गर्ने अवस्था नरहेको अर्थ मन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको बजेट यथार्थवादी रहेको र त्यसको स्रोत सुनिश्चित गरिएको भन्दै कार्यान्वयनमा शङ्का गर्ने कुनै ठाउँ नरहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार सङ्घले शनिबार आयोजना गरेको बजेटपश्चात्को छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बजेट स्रोत व्यवस्थापन गरेर मात्र तयार गरिएको बताए। “स्रोत व्यवस्थापन गरेर नै बजेट निर्माण गरिएको छ। राजस्वको लक्ष्य अनुमानयोग्य आधारमा तय गरिएको छ,” उनले भने, “आव सकिने बेला प्रश्न उठ्ने अवस्था आउन दिइने छैन।”

उनले सार्वजनिक ऋणको परिमाणबारे अनावश्यक चिन्ता नगर्न आग्रह गर्दै, सरकार सावाँब्याज तिर्ने क्षमताभित्र मात्र ऋण लिने पक्षमा रहेको स्पष्ट पारे। साथै, उनले विगतमा ७.५ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको उल्लेख गर्दै आगामी आवमा ६ प्रतिशतको वृद्धिदर प्राप्त हुने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले यस पटक तीन करोड रुपैयाँभन्दा कम लागतका परियोजनाहरू केन्द्रीय बजेटमा समावेश नगर्ने नीतिले योजनाको बजेट व्यवस्थापनमा सुधार आएको बताए। “पहिले बजेट कनिकामा छरिएको थियो, अहिले त्यसमा सुधार भएको छ,” उनले भने।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटले निजी क्षेत्रलाई उत्साहित तुल्याउनु सकारात्मक भए पनि आर्थिक वृद्धिको लक्ष्य हासिल नहुने दाबी गरे। “चालु आवमै १६ खर्ब खर्च नभएको र चार खर्ब अधिक बजेट रहेको अवस्थामा आगामी आवमा चार प्रतिशतभन्दा बढी आर्थिक वृद्धि सम्भव छैन,” उनले तर्क गरे। उनले बिजुली र श्रमिक मात्र बिक्री गरेर होइन, आन्तरिक अर्थतन्त्र विस्तार गरेर मुलुक अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट निजी क्षेत्रमैत्री रहेको बताउँदै, नेपालीलाई विदेशमा लगानी गर्न दिने नीतिलाई ऐतिहासिक कदमका रूपमा व्याख्या गरे। उनले स्रोतसाधनको परिचालन, खनिज तथा नदिजन्य पदार्थको उपयोग र लगानी बोर्डलाई थप शक्तिशाली बनाइनु सकारात्मक रहेको बताए।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विषम परिस्थितिमा आएको भए पनि बजेट विकासमुखी र केही महत्वाकांक्षी रहेको धारणा राखे। उनले युवा उद्यमशीलताको प्रवर्द्धनका लागि तीन प्रतिशत ब्याजमा २० लाख रुपैयाँसम्म ऋण दिने नीति स्वागतयोग्य रहेको बताए।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update