जाजरकोट जिल्लाको छेडागाड नगरपालिका–१ खारा र वडा नं. ४ जेवातरा क्षेत्र शनिबार बिहान अघिल्लो रातको अविरल वर्षासँगै आएको भीषण पहिरोले ठुलो क्षति बेहोर्नु परेको छ। मध्यराति करिब २:०० बजेको पहिरोमा परी ४ वटा घर, ५ वटा अस्थायी आवास र २ वटा मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। साथै, अझै १४ वटा घर र १ अस्थायी आवास पहिरोको उच्च जोखिममा रहेको जनाइएको छ।
छेडागाड नगरपालिका–१ ढाँडापाखाबाट खसेको पहिरोले खारा बजारस्थित सव–डिभिजन वन कार्यालयको भवन पनि पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ। नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा ‘अपिल’ ले घटनाबारे जानकारी दिँदै जनताको सुरक्षा र उद्धारमा तत्काल ध्यान दिन जरुरी भएको बताए।
उनका अनुसार पहिरोले करे बस्नेतको पक्की घर, जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएका कर्ण बहादुर बादी र दीपा बादीका घर, साथै राम बहादुर, दिपक, भरत बस्नेतको अस्थायी आवास पूर्णरूपमा भत्किएका छन्। जेवातरा क्षेत्रमा रहेका बीर बहादुर बुढा र अमर बहादुर बुढाका अस्थायी आवास पनि पहिरोले समेटिएको छ।
सडक स्तरोन्नति कार्यमा खटिएका आशिष निर्माण सेवाका कर्मचारीहरूले प्रयोग गर्दै आएका २ वटा मोटरसाइकल पहिरोमा पुरिएको उप–प्रमुख थापाले बताए। त्यसैगरी, शोस्तिक रोजिन एण्ड टर्पेन्टाइन प्रालिको खारा स्थित भान्साघर र गोदाम पनि पहिरोको चपेटामा परेका छन्।
गत वर्षको भूकम्पपछि चिरा परेको मोतिलाल, नविन, दिपक, धनबहादुर, चन्द्र, ऐवान, लोकबहादुर, टेकबहादुर, मेघराज बस्नेतसहित बाली कामी, पृथ्वी बहादुर बस्नेत, मान बहादुर बस्नेत, नर बहादुर थापा र जयवान बस्नेतको घर तथा गोदामहरू समेत अहिलेको पहिरोको उच्च जोखिममा परेका छन्।
मनसुनको औपचारिक सुरुवात हुनुअघि नै आएको यति ठूलो पहिरो र भौतिक क्षतिले गम्भीर चिन्ता उत्पन्न गराएको उप–प्रमुख थापाले बताए। उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, जिल्ला प्रशासन र सरोकारवाला निकायहरूलाई तत्काल पूर्वतयारी र दीर्घकालीन समाधानका लागि सचेत गराएको जानकारी दिए।
स्थानीयवासीको सुरक्षालाई प्राथमिकतामा राख्दै तत्काल उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणको काम अघि बढाउनुपर्ने अवस्था आएको छ। यस प्रकारका घटनाबाट शिक्षा लिएर विपद् व्यवस्थापनमा अझ सशक्त र पूर्वतयार प्रणाली विकास गर्नुपर्ने आवश्यकता झनै स्पष्ट भएको छ।
स्रोत, सञ्चारकर्मी सरु बस्नेत