नेभिगेशन
समाचार

अमेरिकी इतिहासमै पहिलो पटक नेपाली मूलका प्रदीप ढकाललाई भर्जिनियाका दुवै सदनबाट विशेष सम्मान

नेपाली मूलका अमेरिकी नागरिक प्रदीप ढकाल भर्जिनिया राज्यको इतिहासमै पहिलो पटक दुवै सदन — हाउस अफ डेलिगेट्स र सेनेट — बाट संयुक्त प्रस्ताव पारित गरी सम्मानित हुने व्यक्ति बनेका छन्।

भर्जिनिया जनरल एसेम्बलीले ढकालको सामाजिक सेवामा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै एचजे ४२९ नम्बरको संयुक्त प्रस्ताव सर्वसम्मत पारित गर्दै उनलाई सार्वजनिक रूपमै सम्मानित गरेको हो।

ढकाल विगत लामो समयदेखि भर्जिनिया राज्यको हर्नडन क्षेत्रमा सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। उनी तीनपटक हर्नडन सिटी काउन्सिल सदस्यमा निर्वाचित भइसकेका छन् भने सन् २०२४ मा सहरको मेयर पदका उम्मेदवार समेत बनेका थिए।

सम्मान ग्रहण गर्दै ढकालले भने, “यो पुरस्कार मात्र होइन, यो मलाई अझ बढी सेवा गर्न प्रेरणा दिने सम्झना हो। म सधैं समुदायको भलाइका लागि सक्रिय रहिरहनेछु — चाहे त्यो हाम्रो सहरको होस्, वा समग्र उत्तरी भर्जिनियाको।”

उनीलाई सम्मानपत्र हस्तान्तरण गर्नेहरूमा भर्जिनिया सेनेटकी सदस्य जेनिफर बी. बोयस्को, प्रतिनिधिसभाका सदस्य आइरिन शिन र करेन कीज रहेका थिए।

यो सम्मानले अमेरिकी मूलधारको राजनीतिमा नेपाली समुदायको पहिचान थप मजबुत बनाएको छ। ढकालको सफलताको यो यात्रा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update