नेभिगेशन
समाचार

आजपाका अध्यक्ष प्रभु साहको प्रश्न राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको अनुपस्थितिले गरिमा घटेको टिप्पणी

पूर्वमन्त्री तथा आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ‘सगरमाथा संवाद’ कार्यक्रमको प्रभावकारिता र औचित्यमाथि गम्भीर प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले उच्चस्तरीय सहभागिता नभएको भन्दै कार्यक्रमको अन्तर्राष्ट्रिय गरिमा नै खल्बलिएको दाबी गरे।

उनले भोलिबाट सुरु हुन लागेको सगरमाथा संवाद कार्यक्रम सुरु नहुँदै प्रभावकारिता र सहभागिताको सवालमा आलोचना उठ्न थालेको बताए। साहले भने, "सम्माननीय सभामुख महोदय, यो कार्यक्रम पृथ्वीको भविष्य र मानव जातिको सुरक्षाका लागि आयोजना गरिएको दाबी गरिएको छ। तर यदि उद्देश्य यति महान् हो भने सरोकारवाला देशहरूलाई सहभागी गराउन सक्नुपर्थ्यो।"

उनले भारत र चीनजस्ता छिमेकी मुलुकबाट समेत उच्चस्तरीय सहभागिता नदेखिएकोप्रति चिन्ता व्यक्त गरे। "भारत र चीनबाट न त राष्ट्रप्रमुख आएका छन्, न त विदेशमन्त्री नै। यत्तिसम्म कि संयुक्त राष्ट्रसङ्घका महासचिवको समेत उपस्थिति नहुने भएको छ," साहको टिप्पणी थियो।

सरकारले विश्वस्तरीय सहभागिता हुने दाबी गरे पनि हालसम्म कुनै पनि देशका राष्ट्रप्रमुख, सरकार प्रमुख वा विदेशमन्त्री सहभागी नहुने पक्का भइसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

साहका अनुसार तीन सय जना सहभागी हुने भनिएको कार्यक्रममा हाल एक सय ५० जना मात्र सहभागिता जनाउने पुष्टि भएको छ। त्यो संख्यामा पनि काठमाडौंस्थित नियोग प्रमुखहरू र दातृ निकायका प्रतिनिधिहरूलाई समेत समावेश गरिएको उनले जानकारी दिए।

"संवादको नाममा आयोजना गरिएको कार्यक्रमको औचित्यमाथि गम्भीर प्रश्न उठेको छ," 


सगरमाथा संवाद नेपाल सरकारले जलवायु परिवर्तन, पर्यावरणीय संकट र मानव जातिको साझा भविष्यका विषयमा अन्तर्राष्ट्रिय बहसका लागि आयोजना गर्दै आएको बहुपक्षीय सम्मेलन हो। तर यसपटकको संवादमा अपेक्षित उच्चस्तरीय अन्तर्राष्ट्रिय सहभागिता नदेखिँदा त्यसको विश्वसनीयता र प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update